शुक्रबार, मंसिर २१, २०८१
17:28 | २३:१३

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघ्यो

रासस डिसेम्बर १६, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा ३९१ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा ३९१ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २२८ पुरुष र १६३ महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार ९४२ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २९४, ललितपुरका ७७ तथा भक्तपुरका २० रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा मात्र ९३ हजार ७९६ सङ्क्रमित भएका छन् भने ४५० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म ८९ हजार १७९ जना कोरोनाबाट निको भएका मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा हालसम्म १४ हजार ५९८ सङ्क्रमित भएका छन् । तीमध्ये १३७ जनाको मृत्यु भएको छ । तेह्र हजार ६९९ कोरोनाबाट मुक्त भएका छन् । भक्तपुरमा हालसम्म आठ हजार ५४८ जना कोरोनाबाट सङ्क्रमित भएकामा आठ हजार १०० जना मुक्त भएका छन् ।

कोरोनाबाट भक्तपुरमा ९७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट थप १३ को मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ ।

मङ्गलबार कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएको थियो । आज मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू