बुधबार, वैशाख १२, २०८१
22:15 | ०३:००

बेलायतमा पहिलो सातामै एक लाख ७० हजारलाई कोभिड खोप

नेपाली लिङ्क डिसेम्बर १६, २०२०

लन्डन । बेलायतमा एकसाताभित्र एक लाख ७० हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको भ्याक्सिन लगाएको सरकारले बताएको छ । फाइजर र बायोएनटेक नामक दुई कम्पनीले बनाएको कोभिड खोपलाई आम प्रयोगको लागि बेलायतले सबैभन्दा पहिले अनुमति प्रदान गरेको थियो ।

पहिलो हप्तामा ७० भन्दा बढी हस्पिटलहरुमा खोप वितरण कार्यक्रम संचालन गरिएको थियो । आगामी दिनमा थप १० वटा हस्पिटलमा खोप सेवा संचालन गरिने अधिकारीले बताएका छन् । हाल बेलायतमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोप वितरण गरिंदै आएको छ ।

सरकारले दिएको जानकारी अनुसार एकहप्ताभित्र इंग्ल्याण्डमा एक लाख ८ हजार, वेल्समा सात ८९७, नर्दर्न आएरल्याण्डमा चार हजार र स्कटल्याण्डमा १८ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् ।  खोप वितरण शुरु भएसंगै  बेलायतवासी नेपालीहरुले पनि कोरोना विरुद्धको खोप लिएका छन् ।

ब्रोङलिस जनरल हस्पिटलमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएशन (एनडिए) यूकेका अध्यक्ष डा रमेश खोजुले गत बिहीवार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएको नेपाली लिंकलाई बताएका थिए । यस्तै अन्य थुप्रै नेपालीहरुले पनि कोरोना विरुद्धको खोप लिएको बुझिएको छ ।

हाल कोरोना विरुद्धको खोप इंग्ल्याण्डका स्थानीय जीपी सर्जरीहरुमार्फत दिन शुरु गरिएको छ । परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको फाइजर र बायोएनटेकद्वारा विकसित  खोप बेलायतले २ करोड मानिसलाई पुग्ने गरी ४ करोड डोज अर्डर गरेको छ ।

उक्त खोप २१ दिनको अन्तरमा दुई डोज दिइनेछ । बेलायतले फाइजर र बायोएनटेकबाहेक अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड, नोभाभ्याक्सको ६ करोड, भल्नेभाको ६ करोड, जिएसके र सानोफी पाश्चरको ६ करोड, जानसेनको ३ करोड र मोडेर्नाको ७० लाख डोज अर्डर गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू