शनिबार, वैशाख १५, २०८१
20:57 | ०१:४२

मेरो अंश

इन्दिरा चाम्लिङ राई डिसेम्बर ६, २०२०

मलाई भुईंमा छरयौ
धानको बीउ जस्तो
धूलोमा होस् या हिलोमा
जे होस् म तिम्रो
मर्जीको ब्याडमा उम्रिएँ
मैले आफ्नो धर्म निभाएँ
प्रकृतिको अनुपम रंगमा
खुलेर हरियो भएँ
मनै आनन्दित हुने गरी
लहलह भएँ
साँच्चै रहर लाग्दो बैंशमा
कलकलाउँदो भएँ

निर्दयी तिमीले मेरो
खुशीको कोपिला निमोठिदियौ
कलकलाउँदो, कलिलो उमेरको
हाँगा भाँचिदियौ, जरा उखेलिदियौ
तिमीले मेरा स्वतन्त्र रहरहरूलाई
डोरी लिएर कसिदियौ
अनि
बनायौ आफ्नै मर्जीले
मुठी मुठीका अनगिन्ति मुठाहरू
म आधा मरेर आधा बाँचेको
तिमीलाई वास्तै भएन
मैले आफ्नै सम्झिएको आकाशबाट
मैले सुरक्षित सम्झिएको धर्तीबाट
निर्ममतापूर्वक
अपहरण गरेर लग्यौ
कुनै बिरानो मुलुकमा
अनि गाडिदियौ गजगज हिलोमा

धैर्यता र साहसको सगरमाथा उक्लिएर
चिहानमा गाडिएको टुक्राटुक्रा
लास जस्तो मृत जीवनलाई
सिंगो अनि जिवित बनाउने प्रयत्न गरें
तिमीले गलहत्याउन खोजिरह्यै
उक्सिनै नसक्ने गरी दलदलमा
भास्सिएका कलिला सपनाहरूलाई
अलिकति माथि उकास्ने कोशिस गरें
तिमीले दबाउन खोजिरह्यै
वीरता र हिम्मतको बहार बटुलेर
खुसीको लालुपाते फुलाउने जमर्को गरें
तिमीले चुडाउन खोजिरह्यै

रूखो पाखोमा
कति खडेरी, कति बर्षात्
कति आँधीहुरीसँग पैठेजोरी खेलें
तिमीसँग मैले कहिल्यै मागिनँ
मेरो लुटिएको फराकिलो धर्ती
कहिल्यै दावी गरिनँ
मेरो खोसिएको खुल्ला आकाश
केही अंश त मेरो पनि हो भनेर
अब मैले मेरो अंशको दावी
गर्नुपर्ने बेला भएको छ

हाल- बेल्जियम

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू