बेलायतमा कार्यरत डा गुरुङलाई अन्तरराष्ट्रिय अवार्ड



लन्डन- बेलायतमा क्रियाशिल नेपालीमूलका डाक्टर विशाल गुरुङ एक अन्तरराष्ट्रिय स्तरको अवार्डबाट सम्मानित भएका छन् ।
शुक्रबार बेलायतको अक्सफोर्डस्थित अक्सफोर्ड युनिभर्सिटी, केबल कलेजको ओराइली थिएटरमा सम्पन्न १६ औं ‘वर्ल्ड लिडर्स समिट’ मा उनले ‘ह्युमानिटेरियन भिजन लिडर अवार्ड’ प्राप्त गरेका हुन्।
डा गुरुङ संस्थापक रहेको ‘रेज अफ होप फाउन्डेसन फर भिजन’ ले नेपालका विकट क्षेत्रहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरी सयौंको निशुल्क उपचार गर्दै आएको कार्यको कदरस्वरुप आफूलाई यो अवार्ड मिलेको उनले बताए ।
फाउण्डेसनले दुई पटक गरी नेपालका विभिन्न जिल्लामा जम्मा ४ सय २३ जनाको आंखाको निशुल्क शल्यक्रियाबाट गुमेको ज्योति फर्काउन मद्धत पुर्याएको थियो ।
बेलायत सरकारका पूर्व परराष्ट्रमन्त्री डेभिड ओवेन प्रमुख अतिथि रहेको समारोहमा बेलायती उपल्लो सदन हाउस अफ लर्ड्सका सदस्यहरु, पूर्व सांसद विरेन्द्र शर्मा, लिड्सका पूर्व मेयर लगायतका विशिष्ट व्यक्तित्वको उपस्थितिमा डा गुरुङले अवार्ड ग्रहण गरेका थिए ।
बेलायत, अमेरिका, क्यानडा, जिम्बाबे, इण्डिया, मलेसियासहित विश्वका ३० बढी मुलुकका प्रतिनिधि सहभागी समिटमा नेपालबाट भने पहिलोपटक प्रतिनिधित्व भएको हो । ‘वर्ल्ड लिडर समिटको मञ्चमा यस वर्ष पहिलोपटक नेपालको झण्डा पनि समावेश भएको देख्दा गौरव लागको छ’, अवार्डपछि डा गुरुङले भने, ‘हाम्रो कामलाई मुल्याकंन गरेर अन्तरर्राष्ट्रिय स्तरबाट प्राप्त यो अवार्डलाई मैले हौसलाका रुपमा लिएको छु।’
‘ग्लोबल एम्पायर इभेन्ट लिमिटेड’ नामक अन्तरर्राष्ट्रिय संस्थाले आयोजना गर्ने ‘वर्ल्ड लिडर्स समिट’ मा विभिन्न मुलुकबाट राजनीतिज्ञ, समाजसेवी, उद्यमीलगायतका फरक-फरक क्षेत्रबाट लिडरहरुको सहभागिता रहने गरेको छ ।
अवार्ड प्राप्त गरिसकेपछि ‘रेज अफ होप फाउण्डेसन फर भिजन’ का संस्थापक डा गुरुङले बेलायत तथा नेपालमा रहेका सम्पूर्ण ट्रष्टी, सदस्य, शुभेच्छुक, सहयोगी, दाता सबैप्रति निरन्तरको सहयोगका लागि आभार प्रकट गरेका छन् ।
बेलायतको नेपाली समुदायमा समेत समाजिक कार्यमा संलग्न रहंदै आएका डा गुरुङ तमुधिं यूकेका वर्तमान महासचिव हुन् । विगत केही वर्षदेखि बेलायती राजनीतिमा पनि सक्रिय उनी यही मे ७ मा हुने स्थानीय निर्वाचनमा अल्डरसटको वेलिङटन वडामा कञ्जरभेटिभ पार्टीबाट काउन्सिलर उम्मेदवार छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


