शुक्रबार, वैशाख १४, २०८१
08:12 | १२:५७

बसाइ आयरल्याण्ड, मन मस्तिष्क नेपालमा

मिस नेपाल युरोप २०२० फस्टरनर अप संगीता थापाको जीवनका उतारचढाव

नेपाली लिङ्क डिसेम्बर ६, २०२०

लन्डन । यस वर्षको शुरुतिर ड्रिम्स नेपालद्वारा आयोजित पहिलो मिस नेपाल युरोप २०२० प्रतियोगितामा फस्ट रनर अप भइन् २१ वर्षीया संगीता थापा । विभिन्न युरोपेली देशबाट सहभागी १० प्रतियोगीबीचको उक्त प्रतिष्पर्धामा फस्ट रनर भएकी हुन् संगीता ।

टाइटिल जितेपछि आफूमा थप जिम्मेवारीवोध भएको उनी बताउंछिन् । ‘समाजमा रहेपछि व्यक्तिगत रुपमा पनि मैले जोखिम र कमजोर वर्गलाई हेर्नुपर्ने जिम्मेवारी हुन्छ । टाइटिलले यो सामाजिक उत्तरदायित्व परिवर्तन हुंदैन् बरु बढ्छ’, उनको धारणा छ ।

९ वर्षको कलिलो उमेरमै आयरल्याण्ड आइन् संगीता थापा । उनी एकजना भाइ र एक बहिनीका साथ बस्छिन् । बाग्लुङमा जन्मिए पनि उनको धेरैजसो वाल्यकाल र टिनएज पश्चिमा (आयरल्याण्ड) माहोलमै बित्यो । ‘म पश्चिमा समुदायमा घुलमिल छु तर ममा नैतिकता छ, म नम्र र दृढ छु । म अनुशासनशास्त्रमा विश्वास गर्छु’, नेपाली लिंकसंगको कुराकानीमा उनले भनिन् ।

१२ वर्षको छंदा आफ्नो बाबु गुमाएकी संगीतालाई आमाले हुर्काइन्, पढाइन् । सानैमा भोग्नु परेको पारिवारिक वियोगले संगीतामा नैराश्यता होइन्, झन् आत्मबल बढ्यो । ‘मैले जिन्दगीमा केही गर्नुपर्छ, आमाको सपना साकार पार्नुपर्छ भन्ने अठोट लिएं’, संगीताले भनिन्, ‘आमाले नै मलाई दृढ, स्वतन्त्र र बलियो बन्न प्रेरित गर्नुभयो ।’

फर्मास्यूटीकल साइन्समा ब्याचलर दोश्रो वर्षकी विद्यार्थी उनले आधुनिक प्रविधिको ज्ञान र नवीन सृजनामार्फत विश्व स्वास्थ्य चुनौतिसंग जुध्ने सपना सांचेकी छन् । भविष्यमा ग्रामीण भेगमा स्वास्थ्य 
पहुंचका लागि आफ्नो दक्षता प्रयोग गर्ने लक्ष्य उनमा छ र आफ्नो कोर्ष त्यो उद्देश्यमा लगाउन दत्तचित्त छिन् उनी । आयरल्याण्डमा शिक्षा र स्वास्थ्यसेवा निशुल्क छ । उनलाई नेपालजस्तो गरिव र अल्पविकसित देशमा पनि यस्तो सुविधा भइदिए हुन्थ्यो भन्ने लाग्छ र यो क्षेत्रमा केही काम गर्ने सोच छ ।

लकडाउनका बेला वाह्य गतिविधि सबै ठप्प भएकाले पढाइमै ‘फोकस’ गरेको उनले बताइन् । परिवारसंग समय बिताउने, पकाउने, नाच्ने, खेल्ने गरेर समय बितेको उनी बताउंछिन् । मातृभूमिको कला संस्कृति संरक्षण गर्नुपर्छ भन्नेमा उनी विश्वास गर्छिन् ।

‘लामो समयदेखि म विदेशमा रहेपनि म नेपाली हुं । मेरो आत्मा नेपालमै छ किनकि मेरो पहिलो पाइला त्यहींबाट बढ्यो जहां मेरो कथा शुरु भएको थियो । नेपाल मेरो घर हो र मलाई यसैमा गर्व छ’, उनले भनिन् ।

उनी स्कुले जीवनदेखि यहांसम्म आइपुग्दा विभिन्न गतिविधिमा संलग्न भइन् तर डान्स सधैं प्राथमिकता रह्यो । हरेक किसिमका नाच सिक्ने उनको सौख छ । ‘मेरो बुझाइमा नाच एउटा कला हो जहां 
मैले आफ्ना अभिव्यक्तिहरु कलात्मक रुपमा प्रस्तुत गर्न सक्छु । मेरा लागि नाचले आत्मा बोल्छ जुन जीन्दगीबाट विक्षिप्त छन्’, उनले सुनाइन् ।

जर्नल लेख्न र फोटोग्राफी उनका अरु सौखभित्र पर्छन् । ‘म परिवार, साथीभाइ वा एक्लै छंदा तस्बिरहरु कैद गर्न रुचाउंछु’, उनले सुनाइन्, ‘चलचित्र र म्यूजिक भिडियो मेरो सोचाइमा नभएको होइन् तर मलाई यो सबै समयमा निर्भर गर्छ भन्ने विश्वास छ । म अहिले जहां छु खुशी छु ।’

आफ्नो पढाइ सकिएपछि ब्युटी प्याजेन्टतिर सक्रिय हुने उनी बताउंछिन् । आयरल्याण्डको नेपाली समुदाय सानो तर सहयोगी र आत्मीय रहेको उनको अनुभव छ । त्यहां दया माया र सहानुभूति प्रशस्त छ ।

उनको बुझाइमा माया गर्नु र पाउनु मानव जीवनमा औधि राम्रो र आधारभुत कुरा हो । मायाले नै मानिसको जीवन शुरु हुन्छ, हुर्कन्छ र अन्त्य हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू