बिहीबार, वैशाख १३, २०८१
12:45 | १७:३०

राजदूत सुवेदीको भूमिकाबारे गोर्खाहरु : खुशी बढी, केही गुनासो

नेपाली लिङ्क डिसेम्बर ३, २०२०


लन्डन । चार वर्ष अघि बेलायतका लागि नेपाली राजदूतको नियुक्तिसंगै आन्दोलनरत भूतपूर्व गोर्खाहरुले धेरै अपेक्षा राखे । बेलायतसंग कूटनीतिक पहलका लागि राजदूतको प्रमुख भूमिका हुने भएर पनि उनीहरु आशावादी हुनु स्वभाविक थियो ।

आफ्नो कार्यभार सम्हाले लगत्तै राजदूत डा. दुर्गाबहादुर सुवेदीले भूतपूर्व गोर्खा समस्या समाधानमा चासो देखाए र प्रयास पनि थाले । मन्त्रीस्तरिय भेटघाटसंगै उनकै पहल स्वरुप नेपाल र बेलायत सरकारका प्रतिनिधि र भूतपूर्व गोर्खाहरु सम्मिलित प्राविधिक समिति गठन भयो ।

प्राविधिक समितिका झण्डै आधा दर्जन वार्तापछि उक्त समितिले सर्वसम्मत १३ बुंदे प्रतिवेदन तयार गरयो । प्रतिवेदन गत २२ मार्च २०१८ मा बेलायत र नेपाल सरकारलाई औपचारिकरुपमा हस्तान्तरण पनि गरियो तर त्यसको कार्यान्वयनमा बेलायत सरकारले चासो देखाएन ।

उक्त प्रतिवेदनमा केन्द्रित रहेर चांडो भन्दा चांडो संवाद गरी समस्या समधान गर्न गोर्खाहरुले माग गर्दै आएका छन् ।राजदूत डा. सुवेदीको कार्यकाललाई भूतपूर्व गोर्खा नेताहरुले भिन्न ढंगले मुल्यांकन गरेका छन् ।

राजदूत सुवेदीको पालामा गोर्खा समस्याको समाधानको लागि सफल निश्कर्ष निस्किन नसकेपनि उनको तर्फबाट सक्दो पहल र  प्रयत्न भने भएको उनीहरुको बुझाइ छ ।

गोर्खा आन्दोलनको एउटा प्रमुख घटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई डा सुवेदीको कार्यकाल भूपू गोर्खाहरुको लागि सुखद रहेको बताउँछन् ।

‘उहाँलाई अहिलेसम्मकै सबैभन्दा विवादरहित, मिलनसार राजदूतका रुपमा हामीले पाएका छौं’, सुवेदीको कार्यकालको समीक्षा गर्दै उनले भने, ‘उहाँ काम गर्न खोज्ने मान्छे हो । हामी गोर्खाहरुको लागि पनि उहाँले धेरै मेहनत गर्नुभयो ।’

राजदूत सुवेदीले बेलायत सरकारसमक्ष गोर्खाका मागहरुलाई स्पष्ट अडानसहित प्रस्तुत गरेको उनको ठहर छ । ‘उहाँले हाम्रा मुद्धाहरु बुझेर तीनका पक्षमा बेलायतसंग स्पष्ट अडान राख्नुभएको छ । नेपाल सरकारलाई पनि सोहिअनुसार रिपोर्टिंग गरेर गोर्खाका पक्षमा योगदान गर्नुभएको हामीले ठानेका छौं’, उनले भने । 

नेपाल सरकारले गोर्खाको मुद्धालाई राष्ट्रिय मुद्धाकै रुपमा प्रस्तुत गर्न बेलायतस्थित राजदूत सुवेदीको पनि सकारात्मक भूमिका रहेको राई बताउँछन् । 

‘उहाँले निकै राम्रो काम गर्नुभएको छ । उहाँको कामप्रति हामी खुशी छौं । उहाँले गर्नुभएका पहलहरुले गोर्खाहरुको लागि सुखद परिणाम ल्याउनेछ भन्ने हामीलाई आशा छ’, उनले भने , ‘बरु हामीलाई अब आउने राजदूतको बढी चिन्ता छ । राजदूत सुवेदीकै स्तरमा काम गर्न नयाँ आउनेलाई सजिलो छैन ।’ 

सिंगो कार्यकालमा राजदूतसंग सन्तुष्ट सत्याग्रह निर्देशक राईले अहिले भने राजदूतसंग एउटा गुनासो रहेको सुनाए । ‘चार वर्ष निकै राम्रो काम गर्नुभयो । नेपाल फर्केर जाने बेलामा अहिलेसम्म यति प्रगति भएको छ, बेलायतको हालसम्मको धारणा यस्तो छ भनेर खुलस्त बताउनुहोला,  हामीहरुलाई मार्गदर्शन गर्नुहोला भन्ने हाम्रो आशा थियो । तर अहिले त उहाँ हाम्रो सम्पर्कमै आउन छोड्नुभएको छ’, राईको भनाइ छ ।  

प्रारम्भिक चरणमा धेरै भूपू गोर्खालाई आवासीय अधिकार दिलाउन सफल ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस्) ले भने राजदूत डा. सुवेदीले आफूलाई ‘वहिष्कार’ गरेको गुनासो गरेको छ ।

‘वास्तवमा उहां (राजदूत) सोसियल फिगर राम्रो भएको धेरै चतुर कूटनीतिज्ञ हो तर गोर्खा 
मुद्धामा कुनै उपलब्धि हासिल गर्न सक्नुभएन’- बिजिडब्लुएस् अध्यक्ष मेजर (रि) टिकेन्द्रदल देवानले भने, ‘उहांले हामीलाई कहिले पनि स्थान दिनुभएन । कतिपटक इमेल गर्दा पनि ‘रेस्पोन्स’ आएन । गोर्खाहरुको पेन्सन मुद्धामा हामी धेरै समयदेखि लडेकाले पर्याप्त आइडिया पनि थियो । हामीले एमओडीलाई काउन्टर च्यालेन्ज दिंदा झन् राजदूतले ‘बोइकट’ गर्नुभयो । किनकि उहां एमओडीसंगै मिल्नुभएको छ ।’

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार 
राई राजदूत डा सुवेदीले गोर्खाहरुको पक्षमा ऐतिहासिक काम गरेको ठान्छन् । ‘गोर्खा आन्दोलनलाई आजको ठाउँसम्म ल्याइपुर्याउन विगत ४ वर्षमा महामहिमज्यूले निकै ठूलो भूमिका खेल्नुभयो । उहाँले देशको राजदूत मात्र नभइ हामी गोर्खाहरुको अभिभावककै रुपमा हाम्रो मुद्धाका पक्षमा काम गर्नुभएको छ’, राजदूत सुवेदीको कार्यकालबारे उनको मुल्यांकन छ ।

डा सुवेदीले दूतावाससम्मको गोर्खाको पहुँच बढाउन महत्वपुर्ण योगदान गरेको राईले बताए । उनले भने, ‘विगतमा त दूतावासमा हाम्रो पहुँचसम्म थिएन । दूतावास जानुपर्दा पनि अपोइन्टमेन्ट लिनुपर्ने, समय पर्खिनुपर्ने हुन्थ्यो । तर अहिले एक फोन कलको भरमा दूतावास जान, सरसल्लाह गर्न सकिने अवस्था छ । महामहिम र उहाँको सिंगो टीमले नै निकै सहयोगी बनेर काम गरेको छ ।’

प्राविधिक संयन्त्रमार्फत गोर्खाका माग समेटिएको तेह् बुंदे सिफारिश प्रतिवेदन बेलायत सरकारसम्म पुग्ने अवस्था निर्माण गर्न राजदूत सुवेदीकै प्रमुख भूमिका रहेको राईको ठहर छ । ‘उहाँले धेरै राम्रो गर्नुभएको छ । आशा छ हामीलाई चाँडै फल मिल्नेछ’ , उनी आशावादी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू