बिहीबार, वैशाख ६, २०८१
13:14 | १७:५९

यूकेले दियो कोभिड खोपलाई स्वीकृति

फाइजरको कोभिड खोप बेलायतमा आगामी सातादेखि

नेपाली लिङ्क डिसेम्बर २, २०२०


लण्डन । बेलायतले कोभिड खोप प्रयोगका लागि स्वीकृति दिएको छ । जर्मन बायोनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले तयार पारेको कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिने बेलायत पहिलो मुलुक बनेको छ ।

परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएको यो खोप आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत गरेको हो ।

सोमबार मात्रै कम्पनीका तर्फबाट आवेदन गरिएकोमा बेलायतको मेडिसिन एन्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) ले स्वीकृति प्रदान गरेको हो ।  

बेलायत सरकारले बायोनटेक र फाइजरले निर्माण गरेको यो खोप लगभग ४० मिलियन ( ४ करोड) डोज अर्डर गरिसकेको छ । एक जनालाई २ खोपका दरले कुल २० मिलियन  (२ करोड) मानिसका लागि पर्याप्त हुनेछ ।

बेलायतले अर्डर गरेको मध्ये १ करोड डोज पहिलो चरणमा आइपुग्नेछ । जसमध्ये ८ लाख  केही दिनभित्रै बेलायत आउनेछ ।
एनएचएसले आउंदो साताको शुरुदेखि नै खोप वितरण गर्न तयार रहेको जनाएको छ ।

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए ।

सामान्यत: दशौं वर्ष लाग्ने खोप निर्माणको सबै चरण पूरा गर्दै १० महिनामै तयार भएको यो अहिलेसम्मकै पहिलो खोप हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू