बुधबार, वैशाख २६, २०८१
03:07 | ०७:५२

इंग्ल्याण्डको एक महिने लकडाउन आजदेखि खुल्यो

तीन तहका प्रतिवन्धहरु लागू

नेपाली लिङ्क डिसेम्बर २, २०२०


लण्डन । कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा इंग्ल्याण्डमा लागू एक महिने लकडाउन बुधबारदेखि खुलेको छ ।  

गत मार्च महिनामा लागू लकडाउन खुलेको केही महिनापछि गत नोभेम्बर ५ बाट पुन: दोस्रो चरणको लकडाउन लगाइएको थियो ।  

लकडाउनका बेला बन्द इंग्ल्याण्डका धेरै स्टोर, रेष्टुरेन्ट, पब, जीमखाना, हेयर ड्रेसर अब बुधबारदेखि संचालनमा आउँदैछन् ।  

लकडाउन खुलेसंगै इंग्ल्याण्डमा अब तीन फरक-फरक तहका प्रतिवन्धहरु लागू भएका छन् । कोरोना संक्रमणको अवस्था हेरेर अति उच्च (भेरी हाई), उच्च (हाई) र मध्यम (मेडियम) अलर्ट गरी तीन तहमा वर्गीकरण गरी क्षेत्रगत रुपमा प्रतिवन्धहरु जारी गरिएको छ ।  

संक्रमण बढी भएका कारण अति उच्च अलर्टमा रहने क्षेत्रहरुमा म्यान्चेस्टर, बर्मिङहम, नटिङहम, लेस्टर, लिंकनशायर, ब्ल्याकपुल, ल्यांकाशायर, वारविकशायर, ब्रिस्टोल, साउथ ग्लस्टशायर, नर्थ समरसेट लगायतका क्षेत्र छन् ।

उच्च अलर्टमा सबैभन्दा बढी क्षेत्रहरु छन् । लण्डन, लिभरपुल, योर्कशायर, वर्सेस्टरशायर, हेरफोर्डशायर, नर्थह्याम्पटन, क्याम्ब्रिज, एसेक्स, बेडफोर्डशायर, ससेक्स, सर्रे, रेडिङ, ह्याम्पशायर (आयल अफ ह्वाइटबाहेक), बकिङहमशायर, अक्सफोर्डशायर, बाथ, डोरसेट, ग्लस्टशायर, स्वीण्डन, डेभन, बर्नमाउथ लगायतका क्षेत्र उच्च अलर्टमा राखिएका छन् ।

संक्रमण न्यून रहेर मध्यम अलर्टमा रहने क्षेत्रमा आयल अफ ह्वाइट, कर्नवाल, आयल अफ स्किली लगायतका थोरै क्षेत्र मात्रै छन् ।

कस्ता छन् प्रतिवन्धहरु ?

कोरोना संक्रमण नियन्त्रणको प्रयासमा सरकारले राष्ट्रिय रुपमै घोषणा गरेका प्रतिवन्धहरु सबै क्षेत्रमा लागू हुनेछन् । तर संक्रमणका आधारमा फरक अलर्ट तहमा रहने क्षेत्रमा लागू हुने प्रतिवन्धहरुमा पनि केहि भिन्नता रहनेछ ।

अति उच्च (भेरी हाई) अलर्टमा राखिएका क्षेत्रमा सबैभन्दा कडा प्रतिवन्धहरु लागू हुनेछन् । जहाँ अन्य घरको मानिसहरुसंगको इन्डोर भेटघाटमा रोक लगाइनेछ । रेष्टुरेन्ट, पब लगायतका सार्वजनिक स्थानमा समेत अरु घरका सदस्यलाई भेट्न पाइनेछैन । ६ जनासम्मको जमघटलाई पार्कहरुमा मात्र छुट दिइनेछ । खाना सर्भ नगर्ने पब तथा बारहरु बन्द रहनेछन् ।

त्यसैगरी, उच्च (हाई) अलर्ट तहका क्षेत्रहरुमा पनि अन्य घरका सदस्यसंग इन्डोर जमघट गर्न पाइनेछैन । घरबाहिर पार्कहरुमा ६ जनासम्मको समुहमा भेट्न पाइनेछ । रेष्टुरेन्ट, पब लगायतका सार्वजनिक स्थानमा पनि ६ जनासम्मको समूहमा भेट्न पाइनेछ ।

सबैभन्दा कम संक्रमण रहेर मध्यम (मेडियम) अलर्टमा राखिएका क्षेत्रमा अन्य घरका ६ सदस्यसम्मको भेटघाट घरभित्रै पनि गर्न पाइनेछ । अन्य प्रतिवन्धहरु भने लागू हुनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू