बिहीबार, वैशाख ६, २०८१
13:25 | १८:१०

व्यापार प्रवर्धनको लक्ष्यसहित माल्टा नेपाल च्याम्बर अफ कमर्श स्थापना

नेपाली लिङ्क डिसेम्बर १, २०२०

लन्डन । नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्धन गर्न एवं दुई देशबीच आर्थिक गतिविधि अभिवृद्धिका लागि नेपाली दूतावास, लन्डन तथा माल्टाका व्यवसायी र लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा नेपाल च्याम्बर अफ कमर्श स्थापना भएको छ ।

माल्टाका प्रसिद्ध व्यवसायी टोमस मिकालौकासको अध्यक्षतामा गठित उक्त संस्थामा उपाध्यक्ष सोम सापकोटा, सचिव शंकर खाती र कोषाध्यक्ष ओलेग ज्याकोभलेस रहेको दूतावासले मंगलबार सांझ जनाएको छ ।

संस्थाको संरक्षकमा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी छन् । माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत सुवेदीले गत १७ जनवरी २०२० मा भएको माल्टाको औपचारिक भ्रमणका अवसरमा माल्टा नेपाल च्याम्बर अफ कमर्श गठनको घोषणा गरेका थिए ।

संस्थाका संरक्षक सुवेदीले नेपाल र माल्टाबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र दुवै देशले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न तथा आर्थिक सहकार्यका लागि निरन्तर कार्य गरिरहेको बताए । साथै उनले माल्टा र नेपालबीच व्यापारिक सहकार्यको ठूलो सम्भावना रहेको र माल्टा नेपाल च्याम्बर अफ कमर्श स्थापनाबाट दुई देशबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने बताए ।

माल्टा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष टोमस मिकालौकासले माल्टा र नेपाल दुवै लगानी तथा व्यापारका लागि उच्च सम्भावना भएका देशहरु रहेको र यस संस्थाले माल्टा र नेपालबीचको सहकार्यमा व्यापार तथा लगानी गर्न इच्छुक व्यवसायी तथा लगानीकर्ताहरुलाई सहयोग तथा सहजीकरण गर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू