बिहीबार, वैशाख १३, २०८१
01:20 | ०६:०५

बेलायतमा कोरोना संक्रमितको संख्या घट्दै

२४ घण्टामा १२ हजार ३३० संक्रमित

नेपाली लिङ्क नोभेम्बर ३०, २०२०

लन्डन । बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर केही कम हुंदै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेलायतमा अघिल्लो हप्ता एकै दिनमा लगभग सात सय कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी दोस्रो लहर शुरु भएयता दैनिक संक्रमितको संख्या पनि लगभग ३३ हजारको हाराहारीमा पुगेको थियो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३३० जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १६ लाख २९ हजार ६५७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा थप २०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ हजार ४४८ पुगेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि इंग्ल्याण्डमा हाल जारी लकडाउन आउँदो डिसेम्बर २ तारिखबाट खुला गरिंदैछ ।

हाल बन्द रहेका अत्यावश्यकबाहेकका पसलहरु तथा हस्पिटालिटी क्षेत्रका व्यवसाय पनि संचालन हुनेछन् । तर, संक्रमणको अवस्थालाई मध्यनजर गर्दै तीन तहका प्रतिवन्ध भने लागू गरिने सरकारले घोषणा गरेको छ ।

यसैबीच, बेलायतमा डिसेम्बर पहिलो साताबाट कोरोनाविरुद्धको भ्याक्सिन पनि वितरण शुरु हुने बताइएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र ब्रिटेनमा आइपुग्ने भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू