आइतबार, भदौ २३, २०८१
07:01 | ११:४६

यूकेमा लकडाउनले रोकिएका विवाहलाई मंसिरको लगन छोप्ने हतारो

नेपाली लिङ्क नोभेम्बर ३०, २०२०


लण्डन । कोरोना संक्रमण नियन्त्रणको प्रयासमा बेलायतमा लागू गरिएको लकडाउनका कारण धेरै नेपालीका तय भएका विवाह समेत रोकिए । 

पहिलो चरणमा मार्चको अन्तिम सातादेखि लकडाउन शुरु भएपछि बैशाख, ज्येष्ठ, असार जस्ता लगनका महिनामा पनि विवाह हुन पाएनन् । 

जुनमा पहिलो लकडाउन खुलेर नोभेम्बरमा दोस्रो लकडाउन हुनुअघिको अवधिमा सानो जमघटसहित विवाह गर्ने छुट त थियो , तर त्योबीचमा कुनै लगन नै परेनन् । 

बेलायतमा गत बैशाखदेखि मंसिरसम्म तय भइसकेका दर्जनौं विवाह लकडाउनकै कारण स्थगित भए ।

इंग्ल्याण्डमा अहिले लागू दोस्रो चरणको लकडाउन आउँदो सातादेखि खुल्दैछ । डिसेम्बर २ तारिखमा लकडाउन खुलेपछि १५ जनासम्मको सहभागितामा विवाह गर्न छुट हुने भएपछि यसअघि रोकिएका कयौं विवाह अहिले मंसिरका लगन छोप्ने हतारोमा छन् ।

‘यो वर्ष मंसिर महिनामा ४ वटा लगन परेका छन् । डिसेम्बर १ को पहिलो लगन त लकडाउनकै बीचमा परेकाले खेर जाने भयो । लकडाउन खुलेपछि डिसेम्बर ६, ७ र ११ तारिखमा गरी तीन वटा लगन बाँकी रहन्छन्’, प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेले भने, ‘लकडाउनले रोकेकामध्ये धेरै विवाह यही तीन दिनभित्र गराउँदैछौं ।’

डिसेम्बर ६ तारिखका दिन प्लमस्टिड पशुपति मन्दिरमा बिहान, दिउँसो र बेलुका एकएक गरी एकै दिनमा तीन वटा विवाह गराउन लागेको पण्डित घिमिरेले बताए । ७ तारिखमा अर्को विवाहका लागि बुक भएको छ । उनले डिसेम्बर ११ को लगनमा फेरि अरु दुई वटा विवाह गराउँदैछन् । बिहानै कोल्चेस्टर पुगेर एउटा विवाह सम्पन्न गरी फर्किएपछि प्लमस्टिड मन्दिरमा अर्को विवाह गराउनुपर्ने उनको तालिका छ । 

पण्डित घिमिरेलाई मात्र होइन, लकडाउन खुलेलगत्तै मंसिरका लगन छोप्ने हतारोले बेलायतका अरु पण्डितहरुलाई पनि व्यस्त बनाएको छ ।

डाटफोर्ड निवासी पण्डित विनोद पन्थीले पनि यीनै तीन दिनका लगन छोपेर ४ वटा विवाह गराउँदैछन् ।

‘डिसेम्बर १ को लगनमा २ वटा विवाह हुने तय थियो तर लकडाउन नखुल्ने भएकाले स्थगति भए’, पण्डित पन्थीले नेपाली लिंकसंग भने, ‘६ तारिख एउटा, ७ तारिख २ वटा र ११ तारिख अर्को एउटा विवाह गराउँदैछु ।’

पण्डित विनोद पन्थी

तीनवटा लगन छोपेर धेरै विवाह गराउनुपर्ने जिम्मेवारीका कारण पण्डितहरुमा ‘प्रेसर’ बढेको पण्डित घिमिरेले बताए । ‘त्यसैले हामीले अरु सहकर्मी पण्डितज्यूहरुसंग काम बाँडेका छौं । सबै जना फरक फरक ठाउँमा खटिएर सबैका विवाह सम्पन्न गराउने हाम्रो योजना छ’, उनले भने । मंसिरपछि यो वर्ष विवाहका अरु लगन नरहेका कारण पनि धेरैले अहिले नै विवाह गरिहाल्न खाजेको घिमिरेको बुझाइ छ । 

यो वर्षका लागि तय गरिएपनि लकडाउनले स्थगित भएका कयौं विवाह भने अझै पनि अनिश्चित छन् । कतिपयले कोभिड महामारी सकिएपछि ठूलै जमघटसहित विवाह गर्ने भनेर पर्खिरहेको पण्डितहरु बताउँछन् । नेपाल गएर आफन्तहरुमाझ विवाह गर्ने योजना बनाएकाहरु पनि महामारीको चपेटामा परेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू