शनिबार, वैशाख ८, २०८१
23:35 | ०४:२०

बेलायतमा राजदूतका चार वर्ष : साहित्यिक मलजलमा संरक्षकको भूमिका

दुबसु क्षेत्री बने लेखक साहित्यकारहरुका अभिभावक

गोपी सापकोटा नोभेम्बर ३०, २०२०

बेलायतको नेपाली साहित्यिक क्षेत्र गएको चार वर्ष एकदमै उपलब्धिमूलक रह्यो । त्यसो त बेलायतका साहित्यिक संघ संस्थाहरुले विगतमा पनि साहित्यिक कार्यक्रम आयोजना गर्ने र केही साहित्यिक कृतिहरुको प्रकाशन गर्ने काम नगरेका होइनन् । तर, गत चार वर्षमा केही महत्वपूर्ण काम भए । ती कामहरुको श्रेय बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अर्थात् साहित्यकार दुबसु क्षेत्रीलाई जान्छ ।

साहित्यकार दुबसु क्षेत्री बेलायतका लागि राजदूत भएर आउने कुरा थाहा पाएदेखि नै बेलायतका नेपाली साहित्यकारहरु उत्साहित बनेका थिए । उनको आगमनपछि बेलायतमा नेपाली साहित्यिक गतिविधिहरु हर्लक्कै बढे । दुबसु क्षेत्री थाहै नपाइकन नेपाली लेखक साहित्यकारहरुका लागि अभिभावक बने । उनले अभिभावकले जस्तै बेलायतको नेपाली साहित्यिक क्षेत्रमा सन्तुलित रुपमा संरक्षकको भूमिका पनि निभाए ।

डा. दुबसु क्षेत्रीले बेलायतको नेपाली साहित्यको क्षेत्रमा गरेका कामहरुको चर्चा गर्नु भन्दा पहिले उनको बारेमा थोरै जानकारी दिनु सान्दर्भिक हुन्छ । डा. दुबसु क्षेत्री बि. सं २०२३ मा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा जन्मेका हुन् । बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा एमए गरेका डा. क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा एमपीए र त्रिविबाटै ‘आधुनिक नेपालको परराष्ट्रनीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका हुन् । नेपाल सरकारको परराष्ट्र सेवामा ३२ वर्षदेखि निरन्तर सेवारत उनी सन् २०१६ देखि बेलायतका लागि नेपाली राजदुत बनेका हुन् ।

सन् २०१० देखि २०१५ सम्म जापानको एहिमे विश्वविद्यालयमा अतिथि प्राध्यापक रहेका दुबसुले सन् २००० मा ‘साहित्यमा चौंथो आयाम’ नामक नयां साहित्यिक सिद्धान्तको प्रतिपादन गरेका थिए । उनी ‘वसुन्धरामान प्रज्ञा प्रतिष्ठान’का कुलपति र ‘दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान’का संरक्षक पनि हुन् ।

वि.सं. २०३६ साउनमा पहिलो कविता ‘आमा’ प्रकाशन गरी साहित्यिक यात्रामा लागेका दुबसुका नेपाली भाषामा ३३ र अङ्ग्रेजी भाषामा ८ गरी जम्मा ४१ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् । उनका प्रकाशित कविता सङ्ग्रहहरुमा ‘अश्वमेघ यज्ञका घोडाहरु’, ‘मनभित्र पनि आकाश हुन्छ’, ‘दुबसु क्षेत्रीका प्रारम्भीक कविता’, ‘दुबसु क्षेत्रीका केही कविता’, र ‘दुबसु क्षेत्रीका नयां कविता’ पर्दछन् ।
त्यस्तै ‘मुटु चोर्ने आंखाहरु’, ‘तिमीले छोडेका यादहरु’, ‘ज्योति ज्योति जीवनज्योति’, ‘पग्लियौ पुनम पलपल’, ‘अर्धमुद्रित अधरहरु’, ‘मजस्तै तिमी पनि’, ‘निर्मम यादहरु’, र ‘दूबोसरि रहरहरु’ उनका गीत सङ्ग्रहहरु हुन् ।

कविता र गीत बाहेक उनी गजल पनि लेख्छन् । ‘दुबसु क्षेत्रीका प्रारम्भिक गजल’, ‘चुपचाप चुपचाप’, ‘कोलाज मन’, ‘निर्बन्ध मन’, ‘अतिरिक्त मन’, ‘अमलेख मन’, ‘समसामयिक नेपाली गजल’ उनका गजल कृतिहरु हुन् । उनको ‘दुबसु क्षेत्रीका प्रारम्भिक मुक्तक’ नामक मुक्तक संग्रह प्रकाशित छ ।

लेखक डा. दुबसु क्षेत्रीले समालोचनाको क्षेत्रमा पनि धेरै काम गरेको पाइन्छ । उनका ‘समकालीन नेपाली कविता’, ‘समकालीन नेपाली कविताको रूपयात्रा’, ‘मानवाधिकारका लागि नेपाली कविता’, ‘बेलायतमा नेपाली कवि र कविता’, ‘म्यान्माली नेपाली कविता’, ‘प्रतिनिधि म्यान्माली नेपाली कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘अनेसासको इतिहास’, ‘एक्काइसौं शताब्दीको नेपाली साहित्य’, ‘साहित्य र संस्कृति’, ‘जापानमा नेपाली भाषा र साहित्य’ र ‘म्यान्मामा नेपाली भाषा’ जस्ता कृतिहरु प्रकाशित छन् ।

डा. दुबसु क्षेत्री अब छिट्टै नै राजदूतको आफ्नो कार्यकाल सकाएर नेपाल फर्कंदैछन् । त्यही सन्दर्भमा उनले बेलायतमा गरेका साहित्यिक कामहरु अहिले आंखा वरिपरी घुमिरहेका छन् ।

दुबसु क्षेत्रीले आफ्नो चार वर्षे बेलायत बसाईमा केही महत्वपूर्ण कामहरु गरे, जुन अरुले गर्न असम्भवप्रायः थियो । उनले संयोजन र सम्पादन गरेर प्रकाशित गरेका पांच कृतिहरु त्यसका मुख्य उदाहरणहरु हुन् । उनले सम्पादन गरेका ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ प्रकाशित भइसकेका छन् । त्यस्तै उनले नै सम्पादन गरेको ‘बेलायतमा नेपाली नाटक’ 
प्रकाशोन्मुख छ ।

बेलायतमा रहेका सबै लेखक र साहित्यकारहरुलाई समेटेर ती कृतिहरु तयार गर्नु र प्रकाशन गर्नु सजिलो काम होइन् । त्यो एउटा ऐतिहासिक काम हो, जुन काम सम्पन्न गरेर डा. क्षेत्रीले बेलायतको नेपाली साहित्य र सम्पूर्ण नेपाली साहित्यलाई नै ठूलो गुन लगाएका छन् ।

त्यस्तै यो बीचमा उनकै पहलमा नेपालको सबैभन्दा पुरानो साहित्यिक पत्रिका ‘शारदा’का दुईटा अंक बेलायत विशेषाङ्कको रुपमा प्रकाशित भए । उनी राजदूत भएको समयमा नेपाली राजदूतावासले प्रत्येक वर्ष नेपाली साहित्य महोत्सवको आयोजना 
गरयो । त्यस्ता महोत्सवहरु आयोजनाले नेपाली साहित्यको विकासमा छुट्टै महत्व राखेको हुन्छ । ती महोत्सवहरुले एकातिर स्थापित लेखकहरुबीच अन्तरक्रिया गर्ने अवसर प्रदान गरयो भने अर्कोतिर नयां लेखकहरु जन्माउन प्रोत्साहित गरयो ।

दुबसुले बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धनमा धेरै चासो राखे र त्यसका लागि आफू समर्पित भए । उनी धेरै जनाका लागि प्रेरणाको श्रोत बने । लेख्न खोज्नेहरुलाई लेख्न प्रोत्साहित गरे ।

समग्रमा हेर्दा उनको एउटा विशेषता छ । उनी जुन देशको राजदूतावासमा विभिन्न जिम्मेवारीहरु वहन गर्दै पुगे, तिनै देशहरुमा नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि के गर्न सकिन्छ भनेर लागि परे । दूतावासका प्रशासनिक र कूटनैतिक जिम्मेवारीका साथ साथै नेपाली भाषा साहित्यको विकासमा आफूलाई समर्पित गरे । उनी म्यान्मार र जापानमा रहंदा त्यहांको नेपाली भाषा साहित्यको बारेमा अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेका थिए ।

बेलायतमा उनी सबै भाषा–भाषी, जात–जाती र समुदायबीच उत्तिकै लोकप्रिय बनेर काम गरे । कुनै पनि काम गर्दा धेरैलाई समेट्न सक्नु उनको खुबी हो । नेपाली साहित्य बाहेक उनी कला, संगीत र चलचित्रको क्षेत्रमा पनि प्रेरणाको श्रोत बने ।

चार वर्षको सफल कार्यकालका लागि साहित्यकार डा. दुबसु क्षेत्री अर्थात् बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीलाई हार्दिक वधाई र आगामी भूमिकाका लागि हार्दिक शुभकामना दिन चाहन्छु ।

(बेलायत बस्ने सापकोटा स्थापित कवि तथा नाटककार हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू