मंगलबार, वैशाख ११, २०८१
08:49 | १३:३४

बेलायतमा शुरुमै कोभिड खोप पाउने सूचीमा को-को छन् ?

नेपाली लिङ्क नोभेम्बर २९, २०२०

लन्डन । आउँदो डिसेम्बर ९ अघि नै  बेलायतमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन शुरु गर्ने तयारी भइरहेको छ । शुरुमा कसलाई खोप दिने भनेर प्राथमिकता निर्धारण गर्दै पब्लिक हेल्थ इंग्ल्याण्डले एक सूची सार्वजनिक गरेको छ । जसअनुसार केयर होम रेसिडेन्ट्स र स्टाफहरु पहिलो प्राथमिकतामा परेका छन् । त्यसपछि  ८० वर्षमाथिको हरेक व्यक्तिका साथै केयर वर्कर र एनएचएस स्टाफलाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

तेस्रो प्राथमिकतामा ७५ वर्ष उमेर माथिका नागरिक छन् भने ७० वर्ष माथिका मानिसहरुका साथै कोभिड १९ को अत्यधिक जोखिम सूचीमा रहेका मानिस चौथो प्राथमिकतामा छन् । ६५ वर्ष माथिका मानिसहरु प्राथमिकताको आधारमा पाँचौं स्थानमा राखिएको पब्लिक हेल्थ इंग्ल्याण्डले जनाएको छ ।

यसैगरी ६० वर्ष, ५५ वर्ष पछि ५० वर्ष उमेरका मानिसहरु प्रथामिकताको आधारमा नवौं स्थानमा पर्दछन, जसमा मुलुकको ठूलो जनसंख्या पर्दछ । सरकारको संयुक्त समितिले भ्याक्सिनसम्बन्धी विस्तृत जानकारी अर्को हप्ता प्रकाशित गर्ने तयारी गरेको बताइएको  छ ।

बेलायतमा अहिले  फाइजर/ बायोएनटेक भ्याक्सिन मात्र ‘मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले मुल्यांकन गरिरहेको छ । यस खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्नेछ ।

बेलायतले अक्सफोर्ड र अस्ट्राजेनेका, फाइजर, मोडर्ना लगायत विभिन्न औषधि कम्पनीका डेढ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ ।

कोभिड भ्याक्सिनको वितरणलाई प्रभावकारी र व्यवस्थित गर्न भन्दै बेलायतमा एक छुट्टै मन्त्री समेत व्यवस्था गरिएको छ । सरकारका व्यापार मन्त्री नाधिम जहावीलाई कोभिड खोप मामिला हेर्ने गरी प्रधानमन्त्री बोरिस जोन्सनले जिम्मेवारी प्रदान गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू