शनिबार, वैशाख ८, २०८१
17:30 | २२:१५

विश्वव्यापी चुनौतीहरुबीच विज्ञान कूटनीतिको भूमिकाबारे लण्डन दूतावासमा गोष्ठी

नेपाली लिङ्क नोभेम्बर २६, २०२०

लण्डन । लण्डनस्थित नेपाली दूतावासले विहिबार अन्तराष्ट्रिय महत्वका विविध विषयहरुमा केन्द्रित एक विचार गोष्ठी सम्पन्न गरेको छ ।

स्कटल्याण्डको ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसंगको सहकार्यमा वर्तमान अन्तर्राष्ट्रिय चुनौतीहरुका सन्दर्भमा सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भूमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनजस्ता विश्वव्यापी विषयहरु तथा त्यसबाट अन्तर्राष्ट्रिय सम्बन्धहरुमा परेको प्रभावहरुका बारेमा विचार विमर्श गरिएको दूतावासले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदी एवम् विश्वव्यापी संकटका रुपमा रहेको कोभिड १९ संक्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको धारणा व्यक्त गरे । अल्पविकसित राष्ट्रहरुलाई महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको मन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले विश्वव्यापी चुनौतिका रुपमा रहेको मौसम परिवर्तनले नेपाललगायत विकासशील एवम् भूपरिवेष्टित राष्ट्रहरुमा देखिएको दुष्परिणामबारे सघन बहस तथा छलफल गर्ने उद्धेश्यले नेपालले सन् २०२१ मा अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराए । अन्तराष्ट्रिय समस्याहरु निराकरणको लागि कूटनीति र विज्ञान तथा प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको उनले बताए ।

कार्यक्रममा वक्ताका रुपमा सहभागी ग्लास्गो क्यालेडोनियन युनिभर्सिटीका प्राध्यापक एन्टोनी मोर्गनले विज्ञान कूटनीति र जनस्वास्थ्य सुरक्षाका विविध पक्षहरुको विषयमा चर्चा गरे ।

त्यसैगरी, जर्मनीको बर्लिनस्थित ‘युनिभर्सिटी अफ युरोप फर एप्लाइड साइन्सेज’ का रेक्टर प्रा. मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिकाबारे बताए । उनले कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावका बारेमा प्रकाश पारे ।

बेलायतस्थित ‘युनिभर्सिटी अफ इष्ट एंगलिया’ का प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती रहेको भन्दै वैज्ञानिकहरुबीचको सहयोग तथा सहकार्य र विज्ञान कूटनीति प्रभावकारी देखिएको बताए ।

कार्यक्रमका अर्का प्रस्तोता अल्वानियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकार ह्यरिस वोङ्गलीले कोभिड संक्रमणका सन्दर्भमा अल्वानियाको अनुभव सुनाउँदै महामारीका समयमा विकासशील देशहरुले भोग्नुपर्ने समस्याहरुको बारेमा प्रस्तुति दिए ।

‘अल्बाटेन कल्चरल फाउण्डेशन’ कुवेतका महासचिव तथा ट्युनिसियाको परराष्ट्र मन्त्रालयका सेक्रेटरी अफ स्टेट प्राध्यापक तोहामी अब्दुलीले कूटनीति र अन्तर्राष्ट्रिय ऐक्यवद्धताको बारेमा जानकारी दिंदै नयाँ विश्वव्यवस्था निर्माणमा विश्वव्यापी ऐक्यवद्धताको लागि कूटनीतिको महत्वबारे प्रस्तुति गरे ।

त्यसैगरी, ग्लास्गो क्यालेडोनियन युनिभर्सिटीका प्राध्यापक टिटुस ओलानीले दिगो तथा नविकरणीय उर्जा विकासका विषयमा आफ्नो प्रस्तुति दिए । ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी अन्तर्राष्ट्रिय कूटनीतिका प्राध्यापक नबिल अयादलेसञ्चालन गरेको वेबिनार कार्यक्रमको समन्वय दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू