शनिबार, वैशाख ८, २०८१
17:32 | २२:१७

इंग्ल्याण्डका कुन क्षेत्रमा कस्ता प्रतिवन्ध लागू हुँदै ?

नेपाली लिङ्क नोभेम्बर २६, २०२०

लण्डन । कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा इंग्ल्याण्डमा लागू भएको लकडाउन आउँदो साता अन्त्य हुंदैछ ।

डिसेम्बर २ मा लकडाउन खुलेपछि संक्रमणको आधारमा विभिन्न तीन तहमा वर्गीकरण गरी क्षेत्रगत रुपमा प्रतिवन्धहरु लगाइंदैछ । सबैभन्दा बढी संक्रमण रहेका क्षेत्रलाई अति उच्च र त्यसभन्दा कम संक्रमण रहने क्षेत्रलाई क्रमशः उच्च र मध्यम ‘अलर्ट’ मा राखिएको छ ।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले विहिबार संसदमा सम्बोधन गर्दै कुन क्षेत्रमा कुन तहको प्रतिवन्ध लगाउने भन्ने घोषणा गरे । जसअनुसार लण्डनसहितका धेरै क्षेत्रहरु उच्च अलर्टमा छन् ।

संक्रमण बढी भएका कारण अति उच्च अलर्टमा रहने क्षेत्रहरुमा म्यान्चेस्टर, बर्मिङहम, नटिङहम, लेस्टर, लिंकनशायर, ब्ल्याकपुल, ल्यांकाशायर, वारविकशायर, ब्रिस्टोल, साउथ ग्लस्टशायर, नर्थ समरसेट लगायतका क्षेत्र छन् ।

उच्च अलर्टमा सबैभन्दा बढी क्षेत्रहरु छन् । लण्डन, लिभरपुल, योर्कशायर, वर्सेस्टरशायर, हेरफोर्डशायर, नर्थह्याम्पटन, क्याम्ब्रिज, एसेक्स, बेडफोर्डशायर, ससेक्स, सर्रे, रेडिङ, ह्याम्पशायर ( आयल अफ ह्वाइटबाहेक) , बकिङहमशायर, अक्सफोर्डशायर, बाथ, डोरसेट, ग्लस्टशायर, स्वीण्डन, डेभन, बर्नमाउथ लगायतका क्षेत्र उच्च अलर्टमा राखिएका छन् ।

संक्रमण न्यून रहेर मध्यम अलर्टमा रहने क्षेत्रमा आयल अफ ह्वाइट, कर्नवाल, आयल अफ स्किली लगायतका थोरै क्षेत्र मात्रै छन् ।

कस्ता छन् प्रतिवन्धहरु ?

कोरोना संक्रमण नियन्त्रणको प्रयासमा सरकारले राष्ट्रिय रुपमै घोषणा गरेका प्रतिवन्धहरु सबै क्षेत्रमा लागू हुनेछन् । तर संक्रमणका आधारमा फरक अलर्ट तहमा रहने क्षेत्रमा लागू हुने प्रतिवन्धहरुमा पनि केहि भिन्नता रहनेछ ।

अति उच्च (भेरी हाई) अलर्टमा राखिएका क्षेत्रमा सबैभन्दा कडा प्रतिवन्धहरु लागू हुनेछन् । जहाँ अन्य घरको मानिसहरुसंगको इन्डोर भेटघाटमा रोक लगाइनेछ । रेष्टुरेन्ट, पब लगायतका सार्वजनिक स्थानमा समेत अरु घरका सदस्यलाई भेट्न पाइनेछैन । ६ जनासम्मको जमघटलाई पार्कहरुमा मात्र छुट दिइनेछ । खाना सर्भ नगर्ने पब तथा बारहरु बन्द रहनेछन् ।

त्यसैगरी, उच्च (हाई) अलर्ट तहका क्षेत्रहरुमा पनि अन्य घरका सदस्यसंग इन्डोर जमघट गर्न पाइनेछैन । घरबाहिर पार्कहरुमा ६ जनासम्मको समुहमा भेट्न पाइनेछ । रेष्टुरेन्ट, पब लगायतका सार्वजनिक स्थानमा पनि ६ जनासम्मको समूहमा भेट्न पाइनेछ ।

सबैभन्दा कम संक्रमण रहेर मध्यम (मेडियम)अलर्टमा राखिएका क्षेत्रमा अन्य घरका ६ सदस्यसम्मको भेटघाट घरभित्रै पनि गर्न पाइनेछ । अन्य प्रतिवन्धहरु भने लागू हुनेछन् ।

इंग्ल्याण्डका कुन क्षेत्रमा कस्तो प्रतिवन्ध लगाउने भनेर बेलायत सरकारले गरेको वर्गीकरणअनुसारको पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू