शनिबार, वैशाख १५, २०८१
23:14 | ०३:५९

फर्किए ब्रिगेडियर जनरल थापा, दुई सातादेखि सैनिक सहचारीविहिन लण्डन दूतावास

नेपाली लिङ्क नोभेम्बर २६, २०२०


लण्डन । लण्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल कुमार थापा आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किएका छन् ।

लण्डन दूतावासमा आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी उनी दुई साताअघि नै नेपाल फर्किएका हुन् ।

थापा फर्किएको दुई साता बितिसक्दा समेत लण्डन दूतावास सैनिक सहचारीविहिन अवस्थामा छ । उनको ठाउँमा नियुक्त भएका महासेनानी रत्नबहादुर गोदार अझै लण्डन आइपुगेका छैनन् ।

दूतावास स्रोतका अनुसार नयाँ सैनिक सहचारी लण्डन आइपुग्ने दिन तय भइसकेको छैन । तर अबको केहि साताभित्रै उनी आइपुग्ने अपेक्षा छ । नेपाली सेनाबाट आवश्यक प्रक्रिया पूरा भइसकेपछि उनी लण्डन आइपुग्नेछन् ।

नेपाली लिंकसंगको संवादमा ब्रिगेडियर जनरल थापाले आफू नोभेम्बर १४ मा नेपाल पुगेर अहिले आइसोलेसनमा बसिरहेको सुनाए ।

कार्यकाल पूरा गरी नेपाल फर्किएका थापा आफ्नो कार्यकौशल र मिजासिलो स्वभावका कारण बेलायतको नेपाली समुदायमा रुचाइएका थिए । विशेषगरि बेलायत-नेपाल तथा दुई देशका सैनिकबीच सम्बन्ध अभिवृद्धि, सैन्य सहयोग र प्रशिक्षण आदानप्रदान, दुई देशका वरिष्ठ  सैन्य अधिकारीहरुबीचको भ्रमण समन्वयमा थापाको भूमिका उल्लेख्य छ ।

ब्रिगेडियर जनरल थापाले गत वर्ष लण्डनस्थित नेपाली दूतावासमा मनाइएको सैनिक दिवसमा पहिलोपटक बेलायती रक्षामन्त्रीदेखि ब्रिटिश आर्मीका उच्च तहका सैनिक जनरल र नेपाली समुदायलाई निम्त्याएर विशेष समारोह आयोजना गरेका थिए ।

नेपाली सैनिक प्रमुखको केही वर्षयता बेलायत भ्रमण नभएपनि गत फेब्रुअरीमा बेलायती आर्मी चिफको नेपाल भ्रमणमा थापाले समन्वयकारी भूमिका खेलेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू