शुक्रबार, चैत १६, २०८०
05:56 | ११:४१

कहिलेसम्म रहला बेलायतमा आर्थिक संकट ?

नेपाली लिङ्क नोभेम्बर २६, २०२०

बुधबार बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले यो वर्षको ‘स्पेण्डिङ रिभ्यू’ बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा प्रस्तुत गरे । सरकारले यसअघि अवलम्बन गरेका आर्थिक नीति तथा योजनाहरुको प्रभावकारिता लेखाजोखा गर्दै आउँदो वर्षका लागि सरकारले योजना गरेका खर्च र प्राथमिकताबारे उनले प्रस्तुति दिए । 

अर्थमन्त्री सुनाकले ‘स्पेण्डिङ रिभ्यू’ अन्तर्गत सरकारका नीति र योजना प्रस्तुत गर्नुअघि देशमा आर्थिक संकटकाल शुरु भएको घोषणा गरे । आर्थिक संकटकाल भर्खर शुरु हुंदैछ भन्दै उनले कोभिड महामारीले बेलायती अर्थतन्त्रमा पारेका गम्भीर असरहरु बल्ल देखिन थालेको र यो क्रम अझै लामो समयसम्म रहने स्पष्ट संकेत गरे   

कोभिड महामारीबाट अति प्रभावित बेलायतले दुई पटक गरी तीन महिनाभन्दा बढी त लकडाउनकै सामना गर्नुपर्यो । दुई लकडाउनको बीचमा सेमी लकडाउनजसरी प्रतिवन्धहरु कायम रहँदा धेरै व्यवसायहरु बन्द रहे । यस अवस्थामा देशको अर्थतन्त्र प्रभावित मात्रै होइन, बडो नराम्रोसंग अवरुद्ध हुन पुग्यो । सरकारले आफ्नो सबै स्रोत र उपायहरु प्रयोग गर्दै रोजगारी बचाउने, व्यवसायहरु टिकाउने र अर्थतन्त्र जीवित राख्ने प्रयास गर्दै आयो पनि । सरकारले आजसम्म त जेततेन धान्यो, अब अरु बढी धान्न नसक्ने हो कि भन्ने चिन्ता अहिले उब्जिएको छ । 

अर्थमन्त्रीले आर्थिक संकटकाल शुरु भयो भन्नुबाट पनि सिधै यो बुझ्न सकिन्छ कि बेलायती अर्थतन्त्रमा गम्भीर समस्या सिर्जना भएको छ र यो समस्या तत्काल समाधान हुन सम्भव छैन । सरकारले उपलब्ध गराएको फर्लो स्किम आउँदो वर्षको मार्च महिनामा सकिएपछि ठूलो मात्रामा बेरोजगारी सिर्जना हुने, धेरै व्यवसाय बन्द हुने र अर्थतन्त्र थप नाजुक बन्ने निश्चितजस्तै छ । सरकारले लक्ष्यअनुसार प्रगति गर्दै अघि बढ्यो भनेपनि कोभिड माहामारीले अर्थतन्त्रमा पुर्याएको नोक्सानी ‘रिकभर’ गर्न कमसेकम अबको दुई वर्ष लाग्ने अनुमान गरिएको छ । 

बेलायत सरकारले आउँदो वर्ष देशको अर्थतन्त्र ११ दशमलव ३ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । जुन पछिल्लो तीन सय वर्षयताकै सबैभन्दा ठूलो गिरावट हुनेछ । आउँदो वर्षको मध्यतिर बेलायतमा बेरोजगारी उत्कर्षमा पुग्ने आंकलन सरकारको छ । बेरोजगारी दर ७ दशमलव ५ प्रतिशत पुग्दा देशमा बेरोजगारहरुको संख्या २६ लाख पुग्नेछ । सरकारले कोभिड नियन्त्रणको लागि यो वर्ष मात्रै २ सय ८० विलियन खर्च गरेको छ र आउँदो वर्ष थप ५५ विलियन पाउण्ड खर्च गर्दैछ । 

कोभिडकै कारण यस वर्ष सरकारले केन्द्रीय बैंकबाट लिने ऋण ३  सय ९४ विलियन पाउण्ड पुगेको छ । बेलायतले युद्धहरुमा भाग लिंदाका वर्षहरुमा बाहेक यति धेरै ऋण लिएको अहिले नै पहिलोपटक हो । त्यस्तै, सरकारले कानून नै बनाएर कुल आम्दानीको शून्य दशमलव ७ प्रतिशत विदेशी मुलुकलाई दिंदै आएको अनुदान कटौती गरी शून्य दशमलव ५ प्रतिशतमा झारिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत केही कर्मचारीबाहेक आउँदो वर्ष अरु कसैको पनि तलब नबढाउने घोषणा सरकारले गरेको छ । 

यी सबै तथ्यांक र विवरणहरुले एउटै कुरा पुष्टि गर्छन् कि बेलायती अर्थतन्त्र साँच्चीकै ठूलो संकटमा फसेको छ । र अवस्था अझै नाजुक बन्ने निश्चित छ । 

कहिलेसम्म संकट ? 

विश्वकै सबभन्दा सबल र समृद्धमध्येको एक बेलायतको अर्थतन्त्र आज धरमराएको अवस्थामा छ । देशमा आर्थिक संकटकालसम्मको गम्भीर स्थिति सिर्जना भएको छ ।

तर केही महिनाकै छोटो अन्तरालमा आज यस्तो अवस्था निम्तिनुका पछाडि कारण भने एक मात्र छ- कोभिड । एउटा भाइरसको कारण आज जति ठूलो नोक्सानी पुगेको छ, भोली यो भाइरस नियन्त्रणमा आएपछि त्यो नोक्सानी रिकभर हुन पनि पक्कै धेरै समय लाग्नेछैन ।

बेलायत सरकारले सन् २०२२ को अन्त्यसम्ममा अर्थतन्त्रलाई ‘प्रि क्राइसिस’ (महामारीपूर्वको) अवस्थामै पुर्याउने लक्ष्य राखेको छ । तर यो लक्ष्य पूरा हुन्छ नै भन्ने ग्यारेन्टी छैन । अहिलेको अवस्था कसरी अगाडि बढ्छ, सरकारका नीति तथा योजनाहरुले कत्तिको काम गर्छन् र कुन तहमा प्रगति हुँदै जान्छ भन्ने जस्ता पक्षले यो लक्ष्य पूरा हुने वा नहुने निर्धारण गर्नेछन् ।  

महामारीले जुन गतिमा हानी पुर्याएको छ, महामारीपछि पनि त्यस्तै तीव्र गतिमा प्रगति र सुधारहरु हुन सके भने अहिलेको क्षतिलाई पूर्ति गर्न धेरै लामो समय नलाग्ला । कोभिड खोपको विकास पनि अहिले अन्तिम चरणमा पुगिरहंदा आशा गर्ने ठाउँ  झन् फराकिलो बन्दै गएको छ । 

(लण्डनस्थित ‘एसएनपी प्लस एकाउन्टेन्ट्स एण्ड ट्याक्स एड्भाइजरर्स’ का निर्देशक एवं चार्टर्ड एकाउन्टेन्ट समिरनाथ प्याकुरेलसँग नेपाली लिंकको संवादमा आधारित ) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू