बिहीबार, वैशाख १३, २०८१
10:41 | १५:२६

बेलायती अर्थमन्त्रीको घोषणा: अर्थतन्त्र संकटमा

अर्थतन्त्र ११ प्रतिशत भन्दा बढी खुम्चिने अनुमान

नेपाली लिङ्क नोभेम्बर २५, २०२०

लण्डन । बेलायत सरकारका अर्थमन्त्री ॠषि सुनाकले कोभिड महामारीका कारण देश आर्थिक संकटमा फसेको घोषणा गरेका छन्   

बुधबार संसदमा यो वर्षको ‘स्पेन्डिङ रिभ्यू’ प्रस्तुत गर्दै उनले देशमा आर्थिक संकट अहिले शुरुवाती चरणमै रहेको उल्लेख गरे ।   

देशलाई यो संकटबाट पार लगाउन सरकारले अल्पकालिन तथा दिर्घकालिन योजना र नीति तय गरेको उनले जनाए ।  

आउंदो वर्ष देशको अर्थतन्त्र ११ दशमलव ३ प्रतिशत भन्दा बढी खुम्चिने अनुमान सरकारको छ । यति ठूलो तहमा बेलायतको अर्थतन्त्र संकुचित हुन लागेको पछिल्लो ३ सय वर्षमै पहिलोपटक भएको मन्त्री सुनाकले बताए ।  

आर्थिक संकटबीच सरकारको पहिलो प्राथमिकता रोजगारी रहेको मन्त्री सुनाकको भनाइ छ । आगामी वर्षको दोस्रो त्रैमासिक अवधिमा बेरोजगारी दर बढेर ७ दशमलव ५ प्रतिशत पुग्ने आंकलन उनले प्रस्तुत गरेका छन् । जुन बेला बेलायतमा बेरोजगारहरुको संख्या २६ लाखसम्म पुग्नेछ ।  

मन्त्री सुनाकले आगामी वर्ष ‘पब्लिक सेक्टर’ मा कार्यरत कर्मचारीको तलब वृद्धि नगर्ने घोषणा गरे । तर डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र एनएचएस कर्मचारीको तलब बढाइनेछ । वार्षिक आम्दानी २४ हजार पाउण्डभन्दा कम हुनेहरुको तलब कम्तीमा २ सय ५० पाउण्ड बढ्ने बताइएको छ   

बेलायत सरकारले विदेशी मुलुकहरुलाई वर्षेनी प्रदान गर्दै आएको अनुदान पनि घटाएको छ । यसअघि अनुदानमा बांडिदै आएको कुल आम्दानीको शून्य दशमलव ७ प्रतिशत कोष कटौति गरी शून्य दशमलव ५ मा झारिएको छ ।  

मन्त्री सुनाकका अनुसार कोभिड १९ महामारीविरुद्धको लडाईंमा बेलायत सरकारले यो वर्ष २ सय ८० विलियन पाउण्ड खर्च गरिसकेको छ । आउंदो वर्ष ‘पब्लिक सर्भिस’ हरुको सहयोगमा थप ५५ विलियन पाउण्ड खर्च गरिंदैछ ।  

कोभिड महामारीका कारण बेलायत सरकारले केन्द्रीय बैंकबाट लिने ऋण पनि यसअघि योजना गरिएभन्दा निकै बढी ३ सय ९४ विलियन पाउण्ड पुग्ने भएको छ । जुन बेलायत युद्धमा रहेको वर्षहरुबाहेकको समयमध्ये सबैभन्दा उच्च हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू