बिहीबार, चैत १५, २०८०
15:03 | २०:४८

इंग्ल्याण्ड भित्रिनेले पैसा तिरेर परीक्षण गराए क्वारेन्टाइनबाट मुक्ति पाइने

कोरोना परीक्षण गराउंदा ६५ पाउण्डदेखि १२० पाउण्डसम्म लाग्ने 

नेपाली लिङ्क नोभेम्बर २४, २०२०

लन्डन । अन्य मुलुकबाट इंग्ल्याण्ड प्रवेश गर्ने व्यक्तिले चाहेको खण्डमा १४ दिनको क्वारेन्टाइनलाई आधा घटाउन साकिने ट्रान्सपोर्ट सेक्रेटरी ग्रान्ट शेप्सले घोषणा गरेका छन्  ।

विदेशबाट आउने पर्यटकले पाँच दिनपछि आफ्नै खर्चमा निजी क्षेत्रबाट कोभिड -१९ परीक्षण गरेर नेगेटिभ परिणाम देखिएमा उनीहरु क्वारेन्टाइन मुक्त हुने उनले बताएका छन्  ।

आगामी डिसेम्बर १५ बाट यो नियम लागू गरिने बेलायत सरकारले उल्लेख गरेको छ । सामान्यतया निजी कोरोना परीक्षण गराउंदा ६५ देखि १२० पाउण्डसम्म लाग्ने बीबीसीले बताएको छ । परीक्षण गरेपछि सोको नतिजा आउन २४ देखि ४८ घन्टासम्म लाग्नेछ ।

सरकारको यो नयाँ नीतिले अन्तरराष्ट्रिय पर्यटकलाई प्रोत्साहन दिनुका साथै जनतालाई पनि सुरक्षित राख्न मद्दत पुग्ने सरकारको धारणा छ । नयाँ परीक्षण नीतिले स्वतन्त्र रुपमा भ्रमण, आफन्तजनसंग भेट्न पाउने र अन्तरराष्ट्रिय व्यापारमा सहायोग पुग्ने ट्रान्सपोर्ट सेक्रेटरी शेप्सले जनाएका छन् ।

पछिल्लो नियमअनुसार सरकारको ट्राभल करिडोरको सूचीमा नभएका मुलुकबाट आउने यात्रुहरुले अनिवार्य १४ दिन आइसोलेशनमा बस्नुपर्नेछ । सरकारको यो कदमलाई पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । स्कटल्याण्ड र नर्दन आयरल्यान्डले पनि सोहि नियम लागू गर्नेबारे विचार गरिरहेका छन् ।

कोरोना महामारीको मारमा परेको हवाई क्षेत्रलाई समेत यसबाट राहत मिल्ने अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको १४ दिनको क्वारेन्टाइनका कारण यात्रुहरु ठूलो मारमा पर्दै आएका छन् ।

पछिल्लो नयाँ नीति अनुसार पाँच दिन क्वारेन्टाइन र परीक्षणको नतिजा कुर्न करिब दुई दिन लाग्ने हुँदा क्वारेन्टाइन अवधि लगभग आधा कम हुन जानेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू