बिहीबार, वैशाख १३, २०८१
11:56 | १६:४१

हाइड्रो र शिक्षामा लगानीका अवसरबारे लण्डन दूतावासको भर्चुअल सम्मेलन

नेपाली लिङ्क नोभेम्बर २३, २०२०

लण्डन । नेपालमा हाइड्रो र शिक्षा क्षेत्रमा रहेका लगानीका  अवसरबारे लण्डनस्थित नेपाली दूतावासले एक भर्चुअल कार्यक्रम आयोजना गरेको छ । 

भूतपूर्व गोर्खाहरुद्वारा संचालित ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुपसँगको सहकार्यमा आइतबार आयोजित ‘नेपाल विकास सम्मेलन’ मा लगानीका क्षेत्र र अवसरहरुका विषयमा चर्चा गरियो ।

बेलायत,आयरल्याण्ड तथा माल्टाका लगानीकर्ता, व्यवसायी एवं गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानीका अवसरहरुसम्बन्धी जानकारी प्रदान गर्ने एवं लगानीका लागि उत्प्रेरित गर्ने उद्धेश्यसहित सम्मेलन आयोजना गरिएको दूतावासले जनाएको छ ।   

सम्मेलनमा विशेष अतिथिका रुपमा सहभागी ब्रिटेन-नेपाल सोसाइटीका सभापति तथा नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्र्यू स्पार्क्स, आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष भिन्सेन्ट ब्यारी र माल्टा-नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष टोमस मिकालौकासले शुभकामना मन्तव्य दिएका थिए 

सम्मलेनको उद्घाटन गर्दै राजदूत डा दुर्गा बहादुर सुवेदीले बेलायत, आयरल्याण्ड र माल्टामा रहेका गैरआवासीय नेपालीहरुले उर्जा,पूर्वाधार विकास, शिक्षा स्वास्थ्य लगायत नेपालका विविध क्षेत्रमा लगानीका अवसरहरु सिर्जना गरी नेपालको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे । बेलायतमा गठित यूके-नेपाल व्यापार तथा लगानी मञ्च, आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श र माल्टा-नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी बढाउन निर्वाह गरेको भूमिकाको समेत प्रशंसनीय रहेको उनले उल्लेख गरे ।

दूतावासकी उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले नेपाल सरकारको दृष्टिकोणबाट नेपालमा लगानीका अवसरहरुका बारेमा कार्यपत्र  प्रस्तुत गर्दै वैदेशिक लगानीका सन्दर्भमा नेपालको वर्तमान ऐन तथा कानूनी व्यवस्थाहरु, लगानीका क्षेत्र एवं अवसरहरुका बारेमा जानकारी दिइन् । 

यूके-नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष तथा ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष पृथ्वीराज राईले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको सम्भाव्यताबारे चर्चा गर्दै ब्रिटिश सेनाका पूर्व तथा बहालवाला गोर्खा सैनिकहरुको लगानीमा स्थापित ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रुपले लगानी गरेका जलविद्युत् आयोजनाहरुको बारेमा प्रस्तुति दिए । 

त्यसैगरी, गोर्खा ग्रुप यूकेका प्रमुख कार्यकारी अधिकृत हरि बुढा मगरले नेपालको शिक्षा क्षेत्रमा बेलायतमा रहेका गोर्खा सैनिकहरुको लगानी र आगामी दिनमा गोर्खा ग्रुपले नेपालको शैक्षिक उत्थानका लागि तयार गरेको आफ्नो योजनाका बारेमा प्रस्तुति गरे ।

सम्मेलनमा गोर्खा ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मानबहादुर बुढा मगरले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्मेलन समापन गर्दै राजदूत डा सुवेदीले नेपालको लगानी अभिबृद्विको क्षेत्रमा सम्मेलनमा प्रस्तुत भएका विचारहरुले सकारात्मक वातावरण निर्माण गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । विदेशमा रहेको नेपाली डायस्पोरालाई अझ उत्साहित भएर लगानी गर्न उनले आव्हान पनि गरे ।

सम्मेलनको संचालन दूतावासकी उपनियोग प्रमुख/काउन्सेलर रोशन खनालले गरेकी थिइन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू