शनिबार, वैशाख ८, २०८१
04:48 | ०९:३३

इंग्ल्याण्डमा डिसेम्बर २ देखि लकडाउन खुल्ने: जोखिम हेरेर क्षेत्रगत प्रतिवन्धहरु लगाइने

प्रधानमन्त्री जोन्सनले गरे ‘कोभिड विन्टर प्लान’ घोषणा

नेपाली लिङ्क नोभेम्बर २३, २०२०

लण्डन । इंग्ल्याण्डमा नोभेम्बर ५ देखि लागू दोस्रो चरणको लकडाउन आउंदो डिसेम्बर २ देखि हट्ने भएको छ । सोमबार अपरान्ह बेलायती संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य गरी विगतमा जस्तो क्षेत्रगत रुपमा तीन फरक-फरक तहका प्रतिवन्धहरु लागू गरिने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको ‘कोभिड विन्टर प्लान’ घोषणापछि डिसेम्बर २ देखि अहिले बन्द रहेका अत्यावश्यकबाहेकका सबै पसल तथा व्यवसाय, रेष्टुरेन्ट, पब, जीमखाना लगायत संचालनमा आउनेछन् ।

आवश्यक सतर्कतासहित खेलकुद प्रतियोगिताहरु हेर्न ४ हजारसम्म दर्शक जान पाउनेछन् । वैवाहिक समारोह र सामूहिक प्रार्थनासहितका धार्मिक क्रियाकलापलाई पनि छुट दिइनेछ ।

रेष्टुरेन्ट तथा पबहरु राती १० बजे बन्द गर्नैपर्ने यसअघिको नियमलाई केही खुकुलो पार्दै ‘लास्ट अर्डर’ समय १० बजे नै रहेपनि ११ बजेसम्म ग्राहकहरु बस्न पाउने बनाइनेछ ।  

आउंदै गरेको क्रिसमस पर्वका बेला केही दिनको लागि प्रतिवन्ध खुकुलो पारिने तयारी रहेको प्रधानमन्त्रीले बताएका छन् । बेलायतका चारै राज्यमा लागू हुने क्रिसमस छुट कस्तो रहने भन्ने स्पष्ट भने अझै गरिसकिएको छैन । 

लकडाउन हटेपछि सरकारले कोरोना संक्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी क्षेत्रगत रुपमा सोहीअनुसारका प्रतिवन्धहरु लगाउनेछ । कुन क्षेत्रलाई कुन तहमा राख्ने भन्ने वर्गीकरण विहिबारसम्म हुने आशा प्रधानमन्त्री  जोन्सनले व्यक्त गरेका छन् ।  

पछिल्लो लकडाउन लागू हुनुअघि अभ्यास गरिएका यी तीन तहको प्रतिवन्धहरुमा यसपटक भने थप कडाइ गरिने भनिएको छ ।

प्रधानमन्त्री जोन्सनले संसदमा  प्रस्तुत गरेको ‘कोभिड विन्टर प्लान’ कार्यान्वयनमा जानुअघि उक्त प्रस्तावमा यही साता संसदमा मतदान हुनेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू