इंग्ल्याण्डमा लागू लकडाउन डिसेम्बर २ पछि हटाउने तयारी
क्षेत्रगत रुपमा तीन तहका प्रतिवन्धहरु लागू गरिने
लण्डन । इंग्ल्याण्डमा अहिले लागू लकडाउन पूर्व निर्धारित डिसेम्बर २ भन्दा पर नलम्बिने भएको छ ।
सरकारले डिसेम्बर २ पछि लकडाउन अन्त्य गर्ने र जोखिम तथा संक्रमणका आधारमा क्षेत्रगत रुपमा कडा प्रतिवन्धहरु लागू गर्ने योजना बनाएको बेलायती मिडियाले जनाएका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि बेलायत सरकारले तय गर्ने सरकारको ‘कोभिड विन्टर प्लान’ का सम्बन्धमा आइतबार मन्त्रीपरिषदमा निर्णायक छलफल गरी सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गर्ने तयारी छ ।
सरकारको योजनाअन्तर्गत क्रिसमसका लागि डिसेम्बर २२ देखि २८ तारिखसम्म पारिवारिक जमघट केही खुकुलो गरिनेछ । तर कति जनासम्मको जमघटलाई छुट दिइने भन्ने अझै स्पष्ट भएको छैन । क्रिसमसको लागि यूकेव्यापी समान व्यवस्था लागू गर्न अन्य राज्यका स्थानीय प्रशासनहरुसँग पनि छलफल भइरहेको बताइएको छ ।
डिसेम्बर २ देखि लकडाउन हटेपछि यसअघि लागू गरिएजस्तै क्षेत्रगत रुपमा फरक-फरक तहका प्रतिवन्धहरु लगाइनेछ । तर ती प्रतिवन्धहरु विगतको तुलनामा थप कडा पारिने जनाइएको छ ।
संक्रमणको आधारमा मध्यम, उच्च र अति उच्च गरी तीन तहमा वर्गीकरण गर्ने क्रममा धेरै क्षेत्रलाई अति उच्च तहमा राखेर कडा प्रतिवन्धहरु लगाउने योजना छ । कुन क्षेत्रलाई कुन तहमा राख्ने भन्ने निर्णय आउंदो विहिबार गरिनेछ ।
लकडाउनपछि लगभग सबै पसल तथा व्यवसाय खुला गरिएपनि बेटिङ शप, ‘वेट बार’ लगायतका केही क्षेत्र भने थप केही समय बन्द नै रहन सक्नेछन् । हस्पिटालिटी सेक्टरका रेष्टुरेन्ट, पबहरु बन्द गर्नुपर्ने समय विगतको भन्दा एक घण्टा बढाएर ११ बजे पुर्याउने तयारी छ । ‘लास्ट अर्डर’ १० बजे नै गरिएपनि रेष्टुरेन्ट, पबभित्रै रहेका ग्राहक ११ बजेसम्म बस्न पाउनेछन् ।
बेलायतमा मार्चदेखि शुरु भएको पहिलो लकडाउन झन्डै तीन महिना कायम रहेको थियो । कोरोना संक्रमण फैलिने क्रम फेरि बढेसंगै गत नोभेम्बर ५ देखि इंग्ल्याण्डमा दोस्रो चरणको एक महिना लामो लकडाउन लागू गरिएको थियो ।