शनिबार, वैशाख ८, २०८१
05:13 | ०९:५८

स्कटल्याण्डमा आप्रवासीलाई स्वागत, खुशीसंग बसेका छन् नेपाली

नेपाली लिङ्क नोभेम्बर २१, २०२०

लन्डन । गत साता स्कटल्याण्डलाई अधिकार प्रत्यायोजन गरिएकामा प्रधानमन्त्री बोरिस जोन्सन बेखुशी रहेको समाचार आयो । स्कटल्याण्डको विकेन्द्रीकरणलाई ‘विपत्ति’ भन्ने धारणा राखेपछि प्रधानमन्त्री बोरिस जोन्सन विवादमा समेत तानिए ।

प्रधानमन्त्रीले उत्तरी इङ्ल्यान्डलाई प्रतिनिधित्व गर्ने दर्जनौं कन्जरभेटिभ सांसदहरुसँग भर्चुअल बैठकमा उक्त कुरा बोल्दै पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले थप अधिकार प्रत्यायोजन गरेर सबैभन्दा ठूलो गल्ती गरेको भन्ने आरोप लगाएपछि स्कटिस नेशनल पार्टी (एसएनपी) र लेबर दुवै पार्टीले बोरिसको आलोचना गरे ।

स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले बोरिसको उक्त धारणालाई अर्को वर्ष हुने होलिरुड निर्वाचन अघि हतियारका रुपमा प्रयोग गर्न सक्छिन् किनभने निकोलाको स्कटिस नेशनल पार्टीले वहुमतसहित जितेमा उनलाई अर्को जनमत संग्रहका लागि आवहान् गर्न सहज हुन सक्छ । ‘स्कटिश संसदलाई बचाउन र थप बलियो बनाउने एकमात्र बाटो स्वतन्त्रता हो’ उनले प्रतिक्रिया दिएकी छन् ।

पूर्व प्रधानमन्त्री ब्लेयरले आफ्नो कार्यकाल सन् १९९९ मा एडिनबरामा सम्सद स्थापना गरी स्कटल्याण्डलाई विकेन्द्रीकरण गरेका थिए ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट स्रोतले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री जोन्सनले विकेन्द्रीकरणलाई सधैं समर्थन गर्ने गरेका छन् तर स्कटल्याण्डमा पृथकतावादी बढिरहेकोमा उनी खुशी छैनन् । स्कटिश नेशनल पार्टीको नाममा पृथकतावादी र राष्ट्रवादीले यूकेलाई विच्छेद गर्न खोजिरहेको जोन्सनको बुझाइ छ ।

विकेन्द्रीकरणले उत्तरी सीमामा विपत्ति निम्त्याएको प्रधानमन्त्रीले सांसदहरुलाई बताएको द सन् पत्रिकाले उल्लेख गरेको छ । ‘प्रधानमन्त्री जस्तै जो कोहि पनि बेलायतलाई माया गर्ने र एकजुट बनाएर राख्न चाहनेले सोचछ कि यो धेरै खतरनाक र निराशाजनक परिणाम हो । यस विरुद्ध लड्न आवश्यक छ’- कम्युनिटीज सेक्रेटरी रोबर्ट जेनरिकले भने ।

संयुक्त अधिराज्य बेलायतको एक राज्य स्कटल्याण्ड स्वतन्त्र हुने वा नहुने भन्नेबारे चार वर्षअघि भएको जनमत संग्रहमा स्कटल्याण्डवासीले टुक्रिनु हुन्न भन्ने मत हालेका थिए ।

स्कटल्याण्डमा करिब ५५ लाख जनसंख्या छ । स्कटिसहरु इंग्ल्याण्डले आफूलाई सधैं उपेक्षा गरेको ठान्छन् । सन् १९८४ ताका मार्गरेट थ्याचर बेलायती प्रधानमन्त्री हुंदा धेरै कलकारखाना बन्द गराइदिएर आफूहरु बेरोजगार हुनुपरेको घट्नाले उनीहरुलाई बढि आक्रोशित र रुष्ट बनाएको बुझाइ स्थानीयको छ । त्यही आक्रोश र असन्तुष्टिले नेशनलिष्ट पार्टी (एसएनपी) जन्मिएको बुझ्ने पनि धेरै छन् । त्यसो त स्कटल्याण्ड यस्तो राज्य हो, जहां स्कटिश, युरोपेली नागरिकलाई निःशुल्क शिक्षा छ तर इंग्ल्याण्डवासीलाई शिक्षामा शुल्क तिर्नुपर्छ ।

त्यहां रहेका नेपाली समेत स्कट्ल्यान्ड स्वतन्त्र नहोस् भन्ने चाहन्छन् ।

जनमत संग्रहको बेला धेरै जसो नेपाली स्कटल्याण्ड टुक्रिनु हुन्न भन्ने पक्षमा दृढ देखिएको स्मरण गर्छन् २० वर्षदेखि स्कटल्याण्डमा बसिरहेका नेपाल स्कटल्याण्ड एसोसिएसनका संस्थापक भोला खनाल । स्कटिस नेशनल पार्टी (एसएनपी) ले आप्रवासीहरुलाई समान अवसर दिन्छौं भन्दै स्वतन्त्र हुन प्रेरित गरेपनि आफूहरु सधैं ‘बेटर टुगेदर’ को पक्षमा रहेको खनालले जनाए ।

स्कटल्याण्डमा करिव साढे ६ हजार नेपाली रहेको अनुमान छ । व्यवसाय गरिरहेका खनाल बेलायती प्रधानमन्त्री जोन्सनले नरुचाएपनि स्कटल्याण्डले आप्रवासी र स्थानीय व्यवसायीलाई सधैं समर्थन गर्ने बताउंछन् ।

स्कटल्याण्डले आफ्नो मुख्य आयश्रोत पर्यटन, तेल, लिक्वेयर (ह्वीस्की), माछा, भेडा र टर्वाइन पावरबाट सुन्दर भविष्य देखेकाले उ स्वतन्त्र हुन चाहन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू