स्कटल्यान्डको हिमालयन सेन्टर जोगाउन दुई महिनामै जुटाइयो १ लाख ७० हजार पाउण्ड


एडिनबरा- रकम अभावमा लिलामी हुन लागेको स्कटल्यान्डस्थित एक नेपाली सामुदायिक भवन जोगाउन उल्लेखनीय रुपमा रकम संकलन भएको छ ।
एडिनबराको ‘हिमालयन सेन्टर फर आर्टस् एण्ड कल्चर’ को लागि विगत दुई महिनाकै अवधिमा १ लाख ७० हजार पाउन्ड जम्मा भएको सेन्टरका अध्यक्ष मनिष खत्रीले नेपालीलिंकलाई जानकारी दिए ।
सेन्टरले बैंकलाई बुझाउनुपर्ने २ लाख ५० हजार ऋण तिर्न नसकेर लिलामी हुने अवस्थामा पुगेको सामुदायिक भवन जोगाउन अभियान नै सञ्चालन गरी उक्त रकम जम्मा गरिएको अध्यक्ष खत्रीले जनाए ।
कोष संकलन अभियानअन्तर्गत १०० पाउण्ड शुल्कमा आजीवन सदस्यता वितरण गरिएको छ । त्यस्तै, ६ महिनापछि वार्षिक ५ प्रतिशत ब्याज उपलब्ध गराउने गरी १ हजार देखि १० हजार पाउन्डसम्मको लगानी सहयोग समेत उठाइएको छ ।
हालसम्म १ सय ३० जना भन्दा बढीले आजीवन सदस्यता लिएका छन् भने लगानी सहयोग गर्नेहरु पनि झण्डै त्यतिकै संख्यामा पुगिसकेका छन्।
सन् २०१२ मा स्थानीय नेपालीको पहलमा खरिद गरिएको भवनलाई पछि सामुदायिक भवनको रुप दिइएको थियो । भवनको मुख्य हलमा १ सय ६० जनाको सिटिङ क्षमता छ भने भवनमा किचन, बार, क्याफे, स्ट्यान्डिङ एरिया र बाहिर गार्डेन एरिया समेत छन् ।
बैंकको ऋण तिर्न नसकेर लिलामी हुन लागेको भवन यतिबेला उल्लेखनीय सहयोग जुटेपछि भने जोगिने अवस्थामा पुगेको छ ।
‘यो भवन स्कटल्यान्डका हामी नेपालीहरुको भावनासंग जोडिएको हाम्रो सांस्कृतिक धरोधर हो । पछिल्लो दुई महिनाकै अभियानमा जसरी सहयोग संकलन भयो, यसले अब भवन जोगाउन सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ’, सेन्टरका अध्यक्ष खत्रीले नेपालीलिंकसंग भने, ‘अब ऋण चुक्ता गर्न झण्डै ६७ हजार पाउण्ड रकम अपुग छ । त्यो रकम समेत यहि अभियानबाट वा हल सञ्चालन गरेरै भएपनि उठाउन सकिन्छ भन्ने ढुक्क छौं ।’
अध्यक्ष खत्रीले सेन्टरका लागि सहयोग गर्ने सबै आजीवन सदस्य र लगानीकर्तालाई धन्यवाद दिएका छन् ।
यसैबीच, सेन्टरका आजीवन सदस्य र लगानीकर्ताहरुको सहभागितामा सोमबार एक च्यारिटी डिनर समेत आयोजना गरिएको थियो ।
उक्त अवसरमा रोयल बोटानिक गार्डेनका डा मार्क वाटसन, डा भाष्कर अधिकारी, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीलगायतका अतिथिसंगै स्थानीय समुदायका अभियन्ताहरुको उल्लेख्य सहभागिता थियो ।
त्यस क्रममा सहभागीहरुले भवनको संरक्षणका लागि सहयोगको प्रतिवद्धता दोहोर्याएका थिए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



