मंगलबार, चैत ६, २०८०
10:03 | १५:४८

कर्मचारीको अपमान गर्दा बेलायती गृहमन्त्रीको पद धरापमा

पटेलको व्यवहार ‘अपमानजनक’ र ‘अमर्यादित’

नेपाली लिङ्क नोभेम्बर २१, २०२०

बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेल

लण्डन । बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेलले आफू मातहतका कर्मचारीहरुलाई गरेको ‘अपमानजनक’ व्यवहारका कारण यतिबेला बेलायत सरकारमा नै ठूलो हलचल आएको छ ।  

मन्त्री पटेलमाथि लागेको आरोपबारे छानबिन गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई बुझाइएको एक प्रतिवेदनले उनको गल्ती ठहर गरेपछि उनलाई मन्त्री पदबाटै हटाउनुपर्ने माग चौतर्फी रुपमा उठेको छ ।  

मन्त्री पटेलको गल्ती देखाउँदै प्रतिवेदन बुझाइएपछि पनि प्रधानमन्त्री बोरिस जोन्सनले उनको बचाउ गर्दै आएका छन् । प्रधानमन्त्रीले प्रतिवेदनको वेवास्ता गर्दै मन्त्री पटेलको बचाउ गरेकोमा विरोध जनाउँदै छानबिन प्रतिवेदन तयार गर्ने प्रधानमन्त्रीका सल्लाहकारले राजीनामा गरेका छन् ।

गृहमन्त्रालय मातहतका होम अफिस, वर्क एण्ड पेन्सन र इन्टरनेसनल डेभलपमेन्टसहितका तीन विभागका कर्मचारीप्रति मन्त्री पटेलको व्यवहारमाथि छानबिन गरिएको थियो । 

कर्मचारीलाई ‘बुली’ गरेको, अनावश्यक रुपमा डर देखाएको, गालीगलौज र अपशब्द समेत बोलेको भनी गृहमन्त्रीमाथि लगाइएको आरोप छानबिनले पुष्टि गरेको छ । मन्त्रीसंगको बैठकहरुका क्रममा उनले कयौं कर्मचारीलाई डराएर बोल्न समेत नसक्ने बनाएको जनाइएको छ ।

मन्त्री पटेलको अपमानजनक व्यवहारकै कारण देखाउँदै गत मार्च महिनामा होम अफिसका प्रमुख अधिकृतले राजीनामा गरेपछि उनको व्यवहारहरुबारे थुप्रै प्रश्नहरु उठ्न थालेका थिए ।  

छानबिनबाट समेत आफ्नो कमजोरी पुष्टि भएपछि गृहमन्त्री पटेलले भने माफी मागेकी छन् । कर्मचारीलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको दावी गर्दै उनले अन्जानमा त्यस्तो पर्न गएकोमा आफू क्षमाप्रार्थी रहेको बताएकी छन् ।  

शुरुदेखि नै मन्त्री पटेलको समर्थन गर्दै आएका प्रधानमन्त्री जोन्सनले अहिले विपक्षी पार्टी, कर्मचारी युनियन र आफ्नै पार्टीका नेताहरु समेतबाट दबाब झेलिरहेका छन् । कर्मचारीप्रति पटेलको व्यवहार मन्त्रीको रुपमा हुनुपर्ने  मर्यादित र शोभनीय नरहेको भन्दै उनलाई हटाउनुपर्ने माग गरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू