शुक्रबार, असोज ४, २०८१
17:09 | २१:५४

कोभिड खोपले जगायो आशा

धेरै खोपका अन्तिम चरणको मानव परीक्षणमा प्रभावकारी नतिजा

नेपाली लिङ्क नोभेम्बर २०, २०२०


लण्डन । कोभिड–१९ विरुद्ध खोप विकास गरिरहेका अनुसन्धानकर्ताहरु सफलताको नजिक पुगेका खवर आउने क्रम जारी छ । तेस्रो अर्थात अन्तिम चरणको मानव परीक्षणमा प्रभावकारी नतिजा आएसंगै विश्वभर आशा जगाएको छ।

बिहीवार अक्सफोर्ड कोरोना भाइरस भ्याक्सिनले ६० र ७० को उमेरमा रहेका वृद्धवृद्धामा बलियो रोग प्रतिरोधी प्रतिक्रिया देखाएको अनुसन्धानकर्ताहरुले जनाएका छन्।

उक्त उमेर समूह कोरोना भाइरसबाट सबैभन्दा बढी जोखिममा रहेको समूह हो ।

बीबीसीका अनुसार, खोपको परीक्षणमा सहभागीहरुलाई १८ देखि ५५ वर्ष, ५६ देखि ६९ वर्ष र ७० वर्षमाथि उमेर समूहमा विभाजन गरिएको थियो । तर ७० वर्ष माथिका वृद्धवृद्धामा पनि १८ देखि ५५ वर्ष उमेर समूहका जस्तै भाइरस प्रतिरोधी क्षमताको विकास भएको पाइएको छ । परीक्षणमा सहभागी ९९ प्रतिशतमा खोपको दोस्रो डोज लगाएको दुई सातामा एन्टीबडी विकास भएको थियो ।

अनुसन्धानकर्ताहरुले ५६० जना स्वस्थ वयस्कमा गरिएको खोप परीक्षणको नतिजा ‘उत्साहजनक’ भएको पनि जनाएका छन्। उक्त खोपको लामो तेश्रो चरणको परीक्षण अझै जारी छ।

तेस्रो चरणको खोप परीक्षण गरिसकेका कम्पनीहरु फाइजर-बायोएनटेक, स्पुटनिक, सिनोभ्याक बायोटेक र मोडेर्नाले राम्रो प्रारम्भिक नतिजा देखाएको बताएका छन्।

अमेरिकी फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले विकसित गरेका कोभिड–१९ विरुद्धको खोपले ६५ वर्षमाथिका ९४ प्रतिशत बिरामीलाई जोगाउने बताइएको छ ।

अन्तिम चरणमा रहेको उक्त खोप परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी थिए । ति मध्ये आधालाई खोप र आधालाई ‘प्लेसबो’ दिइएको थियो ।

तेस्रो चरणमा जारी परीक्षणले सबै उमेर समूह र जातीय  पृष्ठभूमिका मानिसमा बराबर काम गरेको पनि ति कम्पनीको दावी छ । उनीहरुले आपत्कालीन प्रयोगका लागि अमेरिकामा छिटै अनुमति लिइने जनाएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा अग्रमोर्चामा रहेको अमेरिकी कम्पनी मोडेर्नाले विकसित गरेको खोप कोरोना भाइरसबाट मानिसहरुलाई बचाउन ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ । सो खोप भण्डारण र ओसारपसार गर्न फाइजर भन्दा सजिलो समेत देखिएको छ । मोडेर्नाको खोप घरायसी वा क्लिनिकको फ्रिजमा माइनस २० डिग्री सेन्टीग्रेड तापक्रममा ६ महिनासम्म राख्न सकिने छ ।

बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप १० करोड डोज, फाइजर र बायोएनटेकको ४ करोड डोज र मोडेर्नाको ५० लाख प्रि-अर्डर गरिसकेको छ ।

उता चीनको सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको थियो । उक्त खोप मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूको दावी छ । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोप तयार गरिरहेको छ ।

रसियाले विकास गरिरहेको ‘स्पटनिक भी’ भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दावी गरिएको छ । १६ हजार स्वयंसेवकमा दिइएको दुई डोजले प्रभावकारी नतिजा देखाएको बताइएको छ ।

रसियाले सर्वसाधारणमा प्रयोगका लागि विश्व स्वास्थ संगठनसँग अनुमति मागिसकेको जनाइएको छ ।

बेलायतको बर्नमाउथ विश्वविद्यालयमा आबद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल पछिल्ला समाचारमा विश्वास गर्न सकिने प्रशस्त आधार देख्छन् । ‘अन्तरिम समीक्षको नतिजामा शुभ संकेत छ तर सबै उमेर समूह, लिंग वा जाती विशेसलाई काम गर्छ गर्दैन हेर्नुपर्ने हुन्छ’ अर्यालले भने ।

कोरोना विश्व महामारी भएकाले खोप बनिसकेपछि नेपालमा समेत उपलब्ध हुन खासै ढिलाई देख्दैनन् अर्याल । अहिले खोप उत्पादनमा होडबाजी देखिएपनि बेलायत, अमेरिका जस्ता विकसित देशले आफ्नो वैज्ञानिक सल्लाहकारहरुको सल्लाहमा मात्र खरिद गर्ने उनी बताउँछन् । ‘शुरुमा जोखिममा रहेका वृद्धवृद्धा, त्यसपछि स्वास्थकर्मी र युवालाई खोप दिनेगरी प्राथमिकता छुट्टयाउनु पर्छ’ उनले सुझाए ।

करिब दुई दशकदेखि चिकित्सा पेसामा आबद्ध र हाल बेलायतको वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डिरेक्टर डा. मोहन थापा अब मानव जीवन छिट्टै सामन्यिकरणतर्फ जाने आशा बढेको बताउँछन् ।

यि खोपको इम्युनिटी पावर कतिसम्म लामो रहन्छ त्यो समयले बताउने उनले बताए । सारा विश्वलाई खोप दिने कार्य सहज नभएकाले समय भने लाग्न सक्ने उनको अनुमान छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू