शुक्रबार, चैत १६, २०८०
08:18 | १४:०३

‘बीबीसी मास्टर सेफ’ को सेमिफाइनल प्रवेश गरे नेपाली सेफ सन्तोष

नेपाली लिङ्क नोभेम्बर १९, २०२०

लन्डन । बीबीसीमा प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’ प्रतियोगितामा सहभागी नेपाली सेफ सन्तोष साह सेमिफाइनल प्रवेश गरेका छन् । विहिबार बेलुका प्रसारण भएको क्वार्टरफाइनल चरणबाट अघि बढ्दै उनी सेमिफाइनल पुगेका हुन् ।

चार प्रतियोगी सेफले प्रतिस्पर्धा गरेको क्वार्टरफाइनल चरणको ‘क्रिटिक राउन्ड’ बाट सन्तोषसंगै अरु २ सेफ माथिल्लो चरण उक्लिएका छन् ।

यो चरणमा सन्तोषले ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चटनी र कर्कलोको पात बनाएका थिए । त्यस्तै, मेन कोर्समा उनले पोलेको भेंडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुंको रोटी र माछा, तामाको अचार लगायतका परिकारहरु बनाएर प्रदर्शन गरेका थिए ।  

प्रतियोगी सेफहरुले पस्किएका खाना बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टले चाखेर अंक प्रदान गरेका थिए । उनीहरुले प्रदान गरेको अंककै आधारमा सन्तोष उपल्लो चरण प्रवेश गरेका हुन् ।  

यसअघि बुधबार प्रसारित पहिलो राउन्डमा सहभागी २ प्रतियोगीलाई पछि पार्दै सन्तोष क्वार्टरफाइनलमा उक्लिएका थिए । पहिलो राउन्डमा उनले पोलेको माछा, आलुको अचार, करेलाको चट्नी लगायतका परिकार तयार गरेका थिए । 

बीबीसीबाट प्रसारण हुने अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित यस मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष नै सम्भवत पहिलो नेपाली सेफ हुन् ।

लन्डनका ‘मिसेलिन् स्टार’ सेलिब्रिटी सेफहरुद्वारा संचालित रेष्टुरेन्ट तथा होटेलहरुमा काम गरिसकेका उनले नेपाली खानाबाट ‘मिसेलिन् स्टार’ जित्ने पहिलो नेपाली सेफ बन्ने लक्ष्य लिएका छन् ।  

सिरहा कर्जन्हवा घर भएका सन्तोषले एक दशकअघि बेलायत आउनुभन्दा पहिला लामो समय भारतका विभिन्न पाँच तारे होटेल तथा रेष्टुरेन्टहरुमा कार्यरत थिए   

बीबीसीबाट प्रसारण हुने अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित यस मास्टर सेफ प्रतियोगितामा नेपाली खानासहित सहभागी हुने सम्भवत: सन्तोष नै पहिलो नेपाली सेफ हुन् ।

लन्डनका ‘मिसेलिन् स्टार’ सेलिब्रिटी सेफहरुद्वारा सञ्चालित रेष्टुरेन्ट तथा होटेलहरुमा काम गरिसकेका उनी अहिले नेपाली खाना विश्वमाझ चिनाउने अभियानमा जुटेको बताउंछन् । नेपाली खानाबाट ‘मिसेलिन् स्टार’ जित्ने पहिलो नेपाली सेफ बन्ने उनको लक्ष्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू