शनिबार, वैशाख ८, २०८१
00:59 | ०५:४४

लकडाउनमा ‘लक’ नभइ जुट्यौं राहत वितरणमा

महामारीमा हामीले अति विपन्न ९० घर धुरीलाई राहत बांडेछौं

श्रीमती माया गुरुङ नोभेम्बर १८, २०२०

श्रीमती माया गुरुङ

लन्डन । हाम्रो यसपटकको नेपाल होलिडे कोरोना महामारीले गर्दा छुट्टै किसिमको रह्यो । दुःख, डर, त्रास र खुशी सबैको समिश्रण ।
कर्मभूमिमा वर्षभरी घोटिएर काम गरेपछि जन्मभूमिमा आफन्त भेट्न अनि त्यही बेला होलिडे मनाउन जहिले आतुर हुन्छ मन । यसपटक पनि बल्ल बल्ल महिना दिनको छुट्टी जोहो गरि हामी नेपाल उड्यौं ।

सुन्दर नेपाल, त्योमाथि सुन्दर जन्मभूमि पोखरामा 
रमाउने सुन्दर सपना बोकेर नेपाल उडेका थियौं हामी । तर, संसार अस्तव्यस्त पारेको कोरोना महामारीले नेपाल पनि अछुतो रहेन । नेपाल लकडाउनको वाध्यात्मक परिस्थितिमा गयो । हामी नेपालमै लक भयौं, अर्थात वाध्य भएर नेपालमै बस्नु परयो । आफ्नो वृद्ध आमासंग बस्न पाउंदा शुरुमा एक किसिमले खुशी नै लाग्यो, तर जब जब देशमा विपत्ति र महामारी आउंछ, तब आफ्नो लागि भन्दा अरुका लागि बांच्नु मानवताको कर्तव्य हो भन्ने महशुस मलाई भयो । गरिवीमा थिचिएका निम्नवर्गीय बाबाआमा, दाजुभाई, दिदी 
बहिनीहरुको पीडा देख्न नसकेर व्यक्तिगत रुपमै 
कसैलाई आर्थिक त कसैलाई रासन सहयोग गरें ।

आफ्नो सानो सहयोगका केही तस्बिरहरु फेसबुकमा राखेको थिएं । यसैक्रममा तमु समाज यूकेले मेरो राहत वितरण देखेर समाजले पनि राहत वितरणमा चासो देखायो । समाजका अध्यक्ष शिवचन्द्र गुरुङको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरि संस्थागत रुपमा ५० हजार ३३० रुपैयां पठायो । संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, जयन्ती गुरूङ, बिनु गुरूङ, ओम गुरूङ, प्रज्वल गुरूङ र ममता गुरूङकातर्फबाट ५० हजार ३३० रुपैयां व्यक्तिगत रुपमा प्राप्त भयो र निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरूङबाट १० हजार रुपैयां सहयोग प्राप्त भएपछि परोपकारी संस्थाले आफूलाई दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्ने दायित्ववोध भयो ।


सन् २००७ मा स्थापना भई बेलायतको च्यारिटी कमिसनमा सन् २०१२ मा वैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख सुखमा साथ दिंदै आएको छ । बिपत्तिका बेला आर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकर जीवन बिताइरहेका स्वदेशका थुप्रै नेपालीलाई यस 
संस्थाले सक्दो सहयोग गरेको छ ।

तमु समाज युकेको राहत वितरण सफल बनाउन पोखरास्थित महिला नेत्री एवं समाजसेवी सरस्वती गुरुङ र साउथ इष्ट रिजनल तमुधिं युके उपाध्यक्ष पार्वती गुरुङको सहयोग विशेष रह्यो । हामीले पोखराको प्रदर्शनी कक्षमा राहत वितरण गरेका थियौं । राहत वितरणका क्रममा वडा ९ का वडाध्यक्ष रामराज लामिछानेको शुभकामनाले थप प्रेरित गरयो । यस महामारीमा हामीले अति विपन्न ज्याला मजदुरी गर्ने ९० घर धुरीलाई राहत बांडेछौं । यसले मलाई एउटा बेग्लै किसिमको खुशी र आत्मसन्तुष्टि दिएको छ ।


पोखरामा तमु समाज यूकेको सहयोगमा राहत बांडिएको खबर मिडियामा आएपछि हामीले ‘सिधाकुरा जनता समक्ष, सिधा सहयोग पीडित समक्ष’ भन्ने जुन अभियान चलायौं, थुप्रै परोपकारी संघसंस्था, पवित्र मन भएका सहयोगीहरुबाट पून्यकाममा आर्थिक सहयोग आउन थाल्यो । हामीलाई विश्वास गरी माइला कान्छाको अभियन सफल पारिदिनु भएकामा सबै दाता र सहयोगीहरुलाई धन्यवाद ।

म आंफै तमु समाज युके आमा समूहको निवर्तमान अध्यक्ष माया गुरुङ र साउथ इष्ट रिजनल तमुधिं यूके उपाध्यक्ष पार्वती गुरुङलाई सोंपाल समाज पोखरा साथै भकारी इभेन्ट्स प्रालिका डाइरेक्टर कृष्णकुमार गुरुङ, सल्लाहकार महिला नेत्री एवं समाजसेवी सरस्वती गुरुङ, अध्यक्ष रामबहादुर गुरुङले ‘लेटर अफ अप्रिसिएसन’ ले सम्मानित गराउंदाको क्षण असाध्यै अविष्मरणीय रह्यो । यस्तो खुशीको ‘सरप्राइज’ सम्मान दिनु भएकोमा ह्दय देखि धन्यवाद र हामीलाई यस सम्मान लिने वातावरण बनाइदिने तमु समाज यूके साथै सबै सहयोगी हातहरुलाई ह्दयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं ।

(लेखिका गुरुङ तमु समाज युके आमा समूहकी निवर्तमान अध्यक्ष हुन् । कास्कीको ल्वाङ घलेलमा जन्मे हुर्केकी उनी पोखरामा अध्ययनपछि बैवाहिक जीवनमा प्रवेश गरेर हङ्गकङ्ग हुंदै अहिले बेलायतमा बसोबास गर्छिन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू