शुक्रबार, वैशाख १४, २०८१
08:50 | १३:३५

तमु धिं यूके अधिवेशन डिसेम्बर २० मा, नयाँ नेतृत्व चुनिने

सर्वसम्मत रुपमै कार्यसमिति चयन गर्ने तयारी

नेपाली लिङ्क नोभेम्बर १७, २०२०


लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तमु धिं यूके आफ्नो अधिवेशनको तयारीमा जुटेको छ । संस्थाको नयाँ नेतृत्व चयन समेत गर्ने ११ औं महाधिवेशन तथा २० औं साधारणसभा आउँदो डिसेम्बर २० तारिखमा हुने भएको छ ।

यसअघि नोभेम्बर २१ लाई तय गरिएको अधिवेशन एक महिना पर सारिएको हो । ‘एकातिर कोरोना संक्रमण उत्कर्षमा, अर्कोतिर देशव्यापी लकडाउन । अर्को महिनासम्म थोरै भएपनि अवस्था सहज हुन्छ कि भन्ने आशामा अधिवेशन एक महिना पर सार्ने निर्णय गरिएको हो’, तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले नेपाली लिंकलाई बताए ।

बेलायतको अग्रणी नेपाली संस्था मानिने तमु धिं यूकेमा सामान्यतः सहमतिमै नेतृत्व चयन हुने परम्परा छ । सोहि परम्पराको निरन्तरतास्वरुप वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमै आउँदो कार्यसमिति चयन गर्ने तयारी शुरु गरिएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक

अधिवेशन एक महिना पर सर्दै डिसेम्बर २० मा हुने भएपछि सोहिअनुसारको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

एकेन्द्र गुरुङको संयोजकत्वमा रहेको निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार साधारण सदस्यता नवीकरणका लागि डिसेम्बर १० तारिख साँझ ५ बजेसम्मको समय दिइएको छ ।

डिसेम्बर ११ मा मतदाताको पहिलो नामावली प्रकाशन गरिनेछ । डिसेम्बर १२ का दिन मतदाता नामावलीमा दाबी विरोध र अन्तिम मतदाता नामावली पनि प्रकाशनको तालिका छ । सोहि दिन नै उम्मेदवारी मनोनयन र उम्मेदवारको नामावली प्रकाशन पनि गरिनेछ ।

डिसेम्बर १३ मा उम्मेदवारी मनोनयमा दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि केहि समय उपलब्ध गराइसकेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

मतदान कार्यक्रम डिसेम्बर २० तारिख आइतबार दिउँसो ४ बजेपछि सञ्चालन हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू