शनिबार, वैशाख ८, २०८१
20:05 | ००:५०

नेपालमा स्कुल बनाउन बेलायती दिदीभाइको च्यारिटी

जुटाए सवा लाख रुपैयाँ

नेपाली लिङ्क नोभेम्बर १७, २०२०

लन्डन ।  सन् २०१५ को महाभूकम्पले नेपालमा धनजनको ठूलो क्षति गरायो । भूकम्पले भत्काएका देशभरका हजारौँ स्कुलहरुमध्ये कति त अझै पनि पुनर्निमाण हुन सकेका छैनन्   

नुवाकोट जिल्लास्थित भूकम्पबाट क्षतिग्रस्त त्यस्तै एक स्कुल पुनर्निमाणमा सघाउने उद्धेश्यले  दुई साना बेलायती दिदीभाइले सहयोग जुटाएका छन् ।  

९ वर्षीय क्यालम र ७ वर्षीया एलिड डोलानले झन्डै सवा लाख रुपैयाँ (८ सय पाउन्ड) जम्मा गरेको स्थानीय ‘हेराल्ड न्यूज’ ले जनाएको छ ।  

स्कटल्यान्ड ग्लास्गोकी क्रिष्टिन डोनाल्डले संचालन गरेको च्यारिटी ‘स्ट्र्याथक्लाइड इन्जिनियरिङ फर डेभलपमेन्ट’ को स्कुल निर्माण प्रोजेक्टको सहयोगमा यी दिदीभाइले कोष जुटाएका हुन् ।  

रकम संकलनका लागि उनीहरुले करिब ५० माइल दूरीको च्यारिटी साइकलयात्रा पूरा गरेका थिए ।  

‘नेपालमा रहेका हामी जस्तै विद्यार्थीहरुलाई धेरै समस्या र अभाव रहेको थाहा पाएर हामी दुखी छौं । उनीहरुको सहयोगका लागि सहयोग गर्न पाउंदा भने हामीलाई खुशी लागेको छ’, सहयोगी दिदीभाइले भनेका छन्, ‘हामी भाग्यमानी छौं किनकी हाम्रो देशमा विद्यार्थी र बालबालिकाका लागि धेरै सुविधा छन् । नेपालका बालबालिकाले पनि त्यस्तै अवसरहरु पाउन् भन्ने हाम्रो चाहना छ ।’ 

कलिलै उमेरमा क्यालम र एलिडले शुरु गरेको स्वयमसेवी प्रोजेक्टबाट उनीहरुका बाबुआमा गौरवान्वित बनेका छन् । उनीहरु भन्छन्  ‘हाम्रा छोराछोरीले यो चुनौती स्वीकार गरेकोमा हामीलाई सांच्चिकै गौरव छ । प्राकृतिक विपत्तिहरुबाट प्रभावित मानिसहरुको सहयोगका लागि कसरी योगदान गर्न सकिंदो रहेछ भन्ने ज्ञान उनीहरुले लिए भन्ने हामीले आशा गरेका छौं ।’  

स्कुल प्रोजेक्टकी संयोजक क्रिष्टिन डोनाल्डले भूकम्पबाट भत्किएको ५ वर्षसम्म पनि बन्न नसकेको स्कुल आफ्नो समूहले निर्माण गर्ने कोशिश् गरेको बताइन् ।

भूकम्पअघि साढे ३ सय विद्यार्थीले अध्ययन गर्ने स्कुल संचालन हुन नसकेपछि स्थानीय बालबलिकाहरु घन्टौं हिंडेर अर्को स्कुल जानुपरेको उनले सुनाइन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू