शुक्रबार, चैत १६, २०८०
19:48 | ०१:३३

लक्ष्मीजयन्तीमा लण्डन दूतावासमा नेपाली साहित्य महोत्सव

कृति विमोचन, कार्यपत्रहरुको प्रस्तुति र काव्य गोष्ठी

नेपाली लिङ्क नोभेम्बर १६, २०२०


लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली दूतावासले आइतबार ‘नेपाली साहित्य महोत्सव’ आयोजना गरयो । तीन चरणमा सञ्चालित कार्यक्रममा कृति विमोचन, कार्यपत्रहरुको प्रस्तुति र काव्य गोष्ठी समेत गरिएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रा डा माइकल हट, सम्मानित अतिथिका रुपमा प्रा. डा. सूर्यप्रसाद सुवेदी तथा विशिष्ट अतिथिका रुपमा साहित्यकारहरु सुरेशजंग शाह, लक्ष्मी राई ‘लारा’ र गोपी सापकोटाको सहभागिता थियो ।  

कार्यक्रम उद्घाटनपछि अतिथिहरुलाई स्वागत गर्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याएको योगदानको प्रशंसा गरे 

कार्यक्रमको पहिलो चरणमा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचना सम्मिलित राजदूत डा सुवेदी (दुवसु क्षेत्री) द्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’ को बेलायतमा नेपाली साहित्य विशेषांक १ र २ लोकार्पण गरिएको थियो । 

दोस्रो चरणमा प्रमुख अतिथि प्रा डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमबारे चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारहरुको योगदानबारे बोल्दै उनीहरुका सिर्जना वाचन गरी सुनाए । लण्डनस्थित ‘स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडीज’ बाट पिएचडी गरी सोही विश्वविद्यालयको ‘नेपाली एण्ड हिमालयन स्टडीज’ विभागमा रहेर नेपाली भाषा, साहित्यको अध्यापन गरेका डा हट अहिले अवकाश लिइसकेका छन् ।  

कार्यक्रमका विशेष अतिथि प्रा. डा. सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे । कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली साहित्य विकास परिषद् बेलायतका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी विशिष्ट अतिथि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायतकी अध्यक्ष लक्ष्मी राई ‘लारा’ ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराइन् । 

विशिष्ट अतिथि एवं कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रमको तेस्रो चरणमा बेलायत लगायत, यूरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुका कविता, गीत, मुक्तक वाचनसहित ‘काव्य गोष्ठी’ गरियो । कार्यक्रममा बेलायतमा रहेका लोकप्रिय बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ र सुरेन्द्र इङ्नामले बाँसुरीवादन, कलाकारहरु डम्बर सिंह ‘प्रयास’ र मनोज अन्जानले सारङ्गीवादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुत गरे  

कार्यक्रमको अध्यक्षता राजदूत डा. सुवेदीले गरेका थिए भने सञ्चालन दूतावासकी उपनियोग प्रमुख काउन्सेलर रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू