बिहीबार, चैत १५, २०८०
13:34 | १९:१९

अमेरिकामा विकसित कोभिड खोप ९५ प्रतिशत प्रभावकारी

नेपाली लिङ्क नोभेम्बर १६, २०२०

तस्बिर बीबीसी

लन्डन । कोभिड १९ विरुद्धको खोप विकासमा जुटिरहेका वैज्ञानिकहरुलाई थप सफलता मिलेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी भएको एउटा प्रारम्भिक अध्ययनले जनाएको छ ।

बीबीसीका अनुसार, मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुईपटक खोप लगाइएको थियो । बाँकीलाई ‘डम्मी खोप’ लगाइएको थियो । तर, यसले कति लामो प्रतिरोधी क्षमता कायम राख्छ भन्ने निश्चित भइसकेको छैन् ।

कोभिड खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ विलियन डलरको कोष प्रदान गरेको छ ।  कम्पनीले १० करोड डोज भ्याक्सिन उपलब्ध गराउन लागि साढे १ विलियन डलरको सम्झौता समेत गरिसकेको छ ।  

मोडर्नाले आउंदो वर्षसम्म विश्वभर १ विलियन डोज खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । जसका लागि अन्य मुलुकहरुबाट समेत आवश्यक स्वीकृति लिने योजना कम्पनीले बनाएको छ ।  

मोडर्नाले उत्पादन गर्ने खोप बेलायत ल्याउन कम्पनी र बेलायत सरकारबीच सम्झौता प्रयास चलिरहेको छ । त्यसैले मोडर्नाको खोप बेलायत आउन कम्तीमा अर्को वर्षको मार्च/अप्रीलसम्म लाग्ने आकलन छ ।  

बेलायतले हालसम्म कोभिड खोप विकास गरिरहेका अन्य ६ कम्पनीबाट भने ‘प्रि अर्डर’ गरिसकेको छ । बेलायतमा मात्र ६ वटा कम्पनीलाई मानव परीक्षण गर्न अनुमति दिइएको छ ।  

अहिले विश्वमा झण्डै दर्जन कम्पनीले विकास गरिरहेका खोपको परीक्षण अन्तिम चरणमा छन् ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू