बिहीबार, वैशाख २०, २०८१
22:28 | ०३:१३

आरोहणमा विश्व कीर्तिमान राख्ने गोर्खा निर्मलले ल्याए आत्मकथा

उनको 'वियोण्ड पोसिबल' बेलायत र नेपालमा यसै साता सार्वजनिक

नेपाली लिङ्क नोभेम्बर १५, २०२०

लन्डन । गत वर्ष ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल ६ महिनामै चढेर विश्व कीर्तिमान राखेका पूर्व गोर्खा निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) आफ्नो आत्मकथा लिएर फेरि विश्वसामु आएका छन् । उनको ‘वियोण्ड पोसिबल’ बेलायत र नेपालमा यसै साता सार्वजनिक भएको छ ।

पूर्जाले हिमाल आरोहणका क्रममा भोगेका सुःख दुःखका अनुभव, संघर्ष, ‘प्रोजेक्ट पोसिबल’ अभियान आदिबारे बेलिविस्तार लगाएका छन् । ‘इमान्दारपूर्वक भन्दा मैले जिन्दगीमा आफ्नोबारे किताब लेख्छु भन्ने सोचेको पनि थिइन् । जब गत वर्ष विश्व कीर्तिमान राखें, लाग्यो मेरो कथा मैले विश्वलाई भन्नुपर्छ’, उनले भनेका छन्, ‘जब म हिमालमा थिएं, मैले कहिलेकाहीं सोच्थें म आफ्नो कथा भन्न पनि बांच्नुपर्छ । यदि म मरें भने मेरो कथा कसैले थाहा पाउने छैन् ।’

आफ्नो आत्मकथा लेखन अरु कोही आरोहीबाट प्रभावित भएर वा अनुसन्धान गरेर नभइ आफ्नै अनुभव र जानकारीमा आधारित भएर लेखेको निर्मल बताउंछन् । आफ्नो पुस्तक पढेर अरुलाई हौसला मिल्ने विश्वास उनको छ । ३८१ पेजको उक्त पुस्तक अमेजन, वाटरस्टोन्स, डब्लुएच स्मिथ आदिमा पनि उपलब्ध छ ।

म्याग्देली युवा पूर्जाले विश्व कीर्तिमान 
राख्ने उद्देश्य लिएर गत वर्ष मार्चमा ब्रिटिश स्पेशल फोर्सेसको आकर्षक जागिर छाडेका थिए ।

उनको महत्वकांक्षी योजना ‘प्रोजेक्ट पोसिबल १४ः७’ सात महिनामा सक्ने लक्ष्य थियो तर पूर्जाले त्यसअघि नै सफलतापूर्वक पुरा गरेका थिए । उनले यसअघि रहेको ७ वर्ष, ११ महिना १४ दिनको विश्व कीर्तिमान तोडेका थिए ।

सन् २००३ मा ब्रिगेड अफ गोर्खाज् प्रवेश गरेका उनी सन् २००९ देखि ‘यूके स्पेशल फोर्सेस’ (स्पेशल बोट सर्भिस) को अंग बनेका थिए । दुई सय वर्ष भन्दा बढीको गोर्खा इतिहासमा स्पेशल बोट सर्भिसमा छानिने उनी पहिलो गोर्खा थिए ।

उनले सन् २०१२ देखिमात्र आरोहण यात्रा प्रारम्भ गरेका हुन् । विश्व कीर्तिमान राख्नु अघि उनले सगरमाथा तीन पटक, ८ हजार मिटर माथिका ४ वटा हिमाल र ७ महादेशमध्ये ४ महादेशका अग्ला हिमाल चढिसकेका थिए ।

उनलाई धेरैले ‘निम्स’ भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिश गोर्खा पनि हुन् । निर्मलको नाममा आरोहणका कयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथा देखि लोत्से आरोहण जम्मा दश घण्टा १५ मिनेटमै सम्पन्न गरे जुन यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु (जो ८ हजार मिटर भन्दा अग्ला छन्) चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।

तस्बिर स्यान्ड्रो ब्याबलर

उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर मृत्युको काखमा पुगेका एकजना भारतीय आरोहीलाई बचाएका थिए । ‘जि २०० इ गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनको प्रमुख भूमिका थियो । यी विभिन्न उपलब्धि र साहसले ब्रिटिश आर्मी जागिरमा कलिलै उमेरमा गत वर्ष ‘एमबीइ’ जस्तो साहसिक ब्रिटिश नेशनल अवार्ड पाउन सफल भए उनी ।

दृढ र सकारात्मक सोचले जीवनमा हरेक कुरा सम्भव छ भन्ने ठान्छन् निर्मल ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू