शुक्रबार, वैशाख ७, २०८१
04:07 | ०८:५२

अनेसास यूकेले मनायो ११२ औं देवकोटा जयन्ती

नेपाली लिङ्क नोभेम्बर १४, २०२०

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, यूके च्याप्टरले नोभेम्बर १४ तारिख शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाएको छ । ‘जुम’ मार्फत आयोजित सो कार्यक्रममा देवकोटाको व्यक्तित्व र उनको साहित्यिक योगदानको चर्चा गरियो । च्याप्टरकी अध्यक्ष लक्ष्मी राई (लारा) ले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।

महासचिव सन्तोष कार्की र सचिव मञ्जु भण्डारीद्वारा सन्चालित कार्यक्रममा उपाध्यक्ष राज श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले अनेसास यूकेले बेलायतमा नेपाली भाषा-साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेको धारणा राख्दै अनेसास यूकेलाई धन्यवाद दिए । राजदूत सुवेदीले बेलायतमा रहने हरेक नेपाली नेपालको दूत भएकाले नेपाली साहित्य, भाषा, संस्कृति, संस्कार, परम्परा बचाएर सदैव नेपाली भइ बांचिरहन र नेपालको गरिमा उंचो राख्न आव्हान पनि गरे ।

विशिष्ट अतिथी डा. रुपक श्रेष्ठले महाकविको साहित्यिक योगदानको चर्चा गर्दै उनले दार्जिलिङका सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला तथा पारसमणी प्रधान र नेपालबाट बालकृष्ण सम तथा लेखनाथ पौडेलका साथ नेपालभित्र र बाहिर अनेकौँ कार्यक्रम गरि नेपाली भाषा र साहित्यलाई अघि बढाएको स्मरण गरे ।

श्रेष्ठले देवकोटाले वर्ड्सवर्थको लिरिकल ब्यालेबाट प्रभावित भइ नेवारी समाजमा रहेको कथालाई नेपाली झ्याउरे लयमा लेखेर लोकलयमा सिमित भाकालाई ‘मुनामदन’ मार्फत लेखनको धारमा प्रयोग गर्दै स्वच्छन्दतावाद भित्रयाएको प्रसंग उठाएका थिए । सनातन संस्कारका चार आदर्शमध्ये धर्म र अर्थ मूल विषय रहेपनि ‘मुनामदन’ खण्डकाब्यले नेपाली सँस्कार, मानवता र प्रेम विशेष रुपमा प्रस्तुत गरेकाले उक्त कृति विश्वस्तरको रहेको तथ्य पनि औंल्याए ।

कार्यक्रममा श्रेष्ठले राजदूत डा. दुर्गाबहादुर सुवेदी बेलायत, आयरल्याण्ड र माल्टाका लागि नेपाल सरकारको राजदूतको रुपमा गरिमामय कार्यकाल सफलताका साथ निर्बाह गरि अन्त्यतिर आइपुगेकोमा वधाई पनि दिए । राजदूत डा. सुवेदीले बेलायतमा नेपाली कथाहरु, बेलायतमा नेपाली कवि र कविताहरु, बेलायतका गजलकार र गजलहरुजस्ता संग्रह तयार गरि उदाहरणीय काम गरेको भन्दै श्रेष्ठले वधाई पनि दिए ।

विशेष अतिथी सुमलकुमार गुरुङले सदैव नेपाली भाषा साहित्यको क्षेत्रमा काम गर्दा हौसला र प्रेरणा प्रदान गरेको भन्दै राजदूत सुवेदीप्रति आभार ब्यक्त गरे । उनले राजदूत सुवेदी आफ्नो कार्यकाल पुरा भएर नेपाल फर्किए पनि बेलायतको नेपाली समाज र साहित्यकारहरुलाई उनको प्रेरणा सधैं मिलिरहने आशा पनि व्यक्त गरे ।

अध्यक्ष लाराले महाकविप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण साहित्यकारमा धन्यवाद ब्यक्त गरिन् । उनले राजदूत सुवेदीले बेलायतमा नेपाली साहित्यको उत्थानमा विशिष्ट योगदान दिएको भन्दै आभार ब्यक्त गरेकी थिइन् ।

कार्यक्रममा राज श्रेष्ठ, सन्तोष कार्की, विजय हितान, अमर, सेमन्त राई, प्रतिमा केसी, कुमार केसी, जीत बुढाथोकी, भरत लोहोरुङ, मञ्जु खरेल, माया गुरुङ, दुर्गाप्रसाद पोख्रेल, बिशन थापा, सचिन गुरुङ, गोबर्धन पूजा, नीता गुरुङ, गोकुल भण्डारी, डा रामहरी पौड्याल, लारा, सारा गुरुङ, सुमलकुमार गुरुङ, डा. रुपक श्रेष्ठले आ-आफ्नो रचना वाचन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू