बिहीबार, चैत १५, २०८०
09:45 | १५:३०

बेलायतमा भाइटीकाको कुन साइत उत्तम ?

नेपाली लिङ्क नोभेम्बर १४, २०२०

लन्डन । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अहिले हाम्रो घर-आँगनमा छ । कोरोना महामारीका कारण यसपटक जमघट, देउसीभैलो जस्ता तिहारका रमाइलो पक्षहरु सम्भव नभएपनि घरपरिवारभित्रै सिमित रहेर पनि पर्व मनाउन रोकिएको छैन । 

तिहारको मुख्य दिन भाइटीका मङ्सिर १ गते सोमबार मनाइँदै  छ । नेपालमा बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको पन्चांग निर्णायक समितिले जनाएको छ । 

मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिको भनाइ छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

बेलायतमा शुभ साइत सोमबार बिहान १०:२५ मा

पण्डित ज्योतिषी निलहरि घिमिरे

बेलायतमा भने भाइटीकाको शुभ साइत स्थानीय समयअनुसार सोमबार बिहान १०:२५ मा परेको छ ।

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ  मन्दिरका मूल पण्डित ज्योतिषी निलहरि घिमिरेले उक्त समय भाइटीकाका लागि उत्तम रहेको जानकारी दिए ।

साइतको समयमा टीका शुरु गरेर त्यसपछि आफ्नो सुविधाअनुसार दिनभर नै टीका लगाउन सकिने उनले बताए ।

भाइटीकाका क्रममा टीका थाप्ने दाजुभाईहरु पश्चिम फर्किन र टीका लगाइदिने दिदीबहिनीहरु पूर्व फर्किन उत्तम हुने ज्योतिषी घिमिरेले बताए ।  

सूर्योदयको समयको आधारमा साइत जुर्ने भएकाले नेपाल र बेलायतमा उत्तम साइतको समयमा केही भिन्नता रहने उनको भनाइ छ ।  

मङ्सिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि पन्चांग समितिले जनाएको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो ।

यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू