शुक्रबार, वैशाख १४, २०८१
06:09 | १०:५४

बेलायतमा लकडाउनकै बीच तिहार: देउसी-भैलो ‘भर्चुअल’

नेपाली लिङ्क नोभेम्बर १३, २०२०

लन्डन । पछिल्ला केही वर्षका तिहारमा बेलायतवासी नेपालीहरुमाझ देउसी भैलो खेल्ने चलन खुब बढेको थियो ।

परिवार, आफन्त, साथीभाइ जम्मा भएर घरघरमा जाने, नाच्ने गाउने गरेका धेरै देखिन्थ्यो । त्यसो त कतिपय संघसंस्थाले तिहारको  मौका छोपेर देउसी भैलोमार्फत सामाजिक कार्यका लागि रकम जुटाउने समेत गर्थे ।

दशैंतिहार कार्यक्रम आयोजना गरी सामूहिक देउसी भैलोका कार्यक्रम गर्ने त झन् थुप्रै संस्थाहरु हुन्थे । तर, यो वर्ष अवस्था फरक छ । बेलायतमा कोरोना महामारीको दोस्रो छाल र सरकारले लागू गरेको लकडाउनका बीच नेपालीहरुको रमाइलो पर्व तिहार पनि विगतको जस्तो उल्लासपूर्ण छैन ।  

कोरोना महामारी र लकडाउनका कारण हरेक वर्ष देउसी भैलो खेल्दै आएका बेलायतस्थित कयौं  नेपाली र संघसंस्थाहरुका लागि यसपटक देउसी भैलो सम्भव भएन ।  

‘हामी पछिल्लो तीन वर्ष देउसी भैलो खेल्यौँ । बेलायतजस्तो ठाउँमा आफ्ना साथीभाइ जम्मा भएर इष्टमित्रहरुको घरमा जाने, नाच्ने गाउने गर्दा गजब रमाइलो हुन्थ्यो’, वर्षेनी देउसी भैलो खेल्दै आएको बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ सम्झिन्छन्, ‘देउसी भैलोबाट हामीले नेपालमा निर्माण गरिरहेको वृद्धाश्रमको लागि समेत राम्रै रकम जुटाउन सफल भएका थियौँ ।’ 

बेलायतमै जन्मिएको, यतै हुर्किंदै गरेको नयाँ पुस्तालाई नेपाली मौलिक परम्परा र संस्कृतिबारे सिकाउनका लागि पनि यस्ता देउसी भैलोहरु गतिलो माध्यम बन्ने श्रेष्ठको अनुभव छ ।  

बुद्ध फाउन्डेसन जस्तै अधिकांश संघसंस्था र समूह यो वर्ष देउसीभैलो नखेल्ने सोचमा छन् ।  

भर्चुअल देउसीको तयारी 

महामारी र लकडाउनका कारण धेरैको देउसी भैलो रोकिएपनि बेलायतस्थित केही संस्था र समूह भने भर्चुअल माध्यमबाटै भएपनि देउसी खेल्ने तयारीमा  छन् । कोडेक यूकेले शुक्रबार साँझ भर्चुअल देउसी तय गरेको छ ।  

‘हाम्रो रमाइलो सांस्कृतिक पर्व हो । यसपटक जमघट र अरु रमाइलो गर्न नमिलेपनि भर्चुअल रुपमा एक ठाउँमा भेला गरेर रमाइलो गरौँ, शुभकामना आदानप्रदान गरौँ भन्ने हाम्रो चाहना छ’, कोडेक यूके पूर्व अध्यक्ष शंकर दाहालले भने ।  

लकडाउनका बेला भर्चुअल रुपमै भएपनि साथीभाइसँग भेटघाट हुने र मनोरन्जन पनि हुने भएकाले भर्चुअल देउसीको सोच बनाइएको दाहालले बताए ।  

स्कटल्यान्डका नेपालीहरुको देउसी भैलोलाई पनि कोरोना महामारीले रोक्न नसक्ने भएको छ । नेपाल स्कटल्यान्ड एशोसिएसनले सोमबार भाइटीकाकै दिन साँझमा भर्चुअल देउसी भैलो गर्दैछ । जुम एपमार्फत् जम्मा भएर देउसीभैलो खेल्ने र फेसबुकबाट प्रत्यक्षप्रसारण गर्ने उनीहरुको योजना छ ।

क्रोयडन नेपलिज कम्युनिटी यूकेले पनि शनिबार र आइतबार सांझ ७.४५ बजे ‘भर्चुअल देउसी भैली’ खेल्ने तयारी गरेको छ । कम्युनिटी अध्यक्ष डा. सुरजमणि पौडेलले कोरोना महामारी र लकडाउनका बाबजुद नेपाली मौलिक परम्परा र संस्कृति जगेर्नाका निम्ति भर्चुअल माध्यमबाटै भएपनि कार्यक्रम गर्न लागिएको जनाए । उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ प्रमुख अतिथी रहनेछिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू