सोमबार, जेठ ३, २०७८
10:53 | १५:३८

बाइडेनको जीतमा चिच्याउने हामी आफ्नै दिदीबहिनी बलात्कृत हुंदा किन मौन ?

राधा खरेल नोभेम्बर १३, २०२०


गत साता सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले आवश्यक मत सुरक्षित गरेपछि सामाजिक सञ्जाल उनलाई वधाई र शुभकामना दिन भरियो ।

विदेशमा बस्ने नेपालीमुलका दाजुभाइ दिदीबहिनीहरुले पनि वधाई दिदै नेपालका भ्रष्ट नेताहरुले पनि अब केही सिक्नुपर्ने भन्दै सुझाएको पाइयो । वास्तवमा सुझाव दिन, आलोचना र प्रशंसा गर्न सार्है  सजिलो छ, जति व्यवहारिक कार्यान्वयन गर्न छैन् ।

८-१० वर्ष विदेशमा बसेर विदेशकै हावापानीमा घुलमिल भएपछि आफूलाई एकदम सभ्य देशका नागरिक हौं भन्ने धेरैको बुझाइ छ । वास्तवमा यो एउटा भ्रममात्र हो । यो त्यति प्रधान कुरा पनि होइन्, बरु हामीले यहांबाट के सिक्यौं र कति व्यवहारमा उतार्न सक्षम भयौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

किनकि एउटा फेसबुके समाचारको भरमा वा २-४ दिनको भ्रमणमा कति राम्रा कुरा सिक्नु भएको रहेछ र सिकाउनु भयो भन्ने त विगतको एनआरएनए केन्द्रीय निर्वाचनमा हाम्रा दाजुभाइहरुले काठमाडौंको हायात होटेलमा देखाएको तान्डवबाट प्रष्ट छ । विदेशमा बस्ने हामी देश र समाजको परिवर्तनको जिम्मा लिएका परिवर्तनकारी नारा घन्काउंदै हिंड्ने धेरैले देखेको रवैया उपयुक्त थियो त ? यो पनि सोचनीय कुरा हो ।

अनि प्रजातान्त्रिक पद्दतिको शुरुवात भन्दै गर्दा नेपालमा पनि बहुदलीय प्रजातन्त्र ‘जनताको शासन जनताद्वारा नै हुनुपर्छ’ भन्दै बहुदल अनि त्यसले पनि भएन भनेर राजसंस्था फालेरै हो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको । राजतन्त्रीय व्यवस्थामा एउटा मात्रै राजा हुन्थ्यो । त्यसपछि त्यस गद्दीको उत्तराधिकारी उसैको छोरा अनि नाती आउंछ भन्दै रोल क्रममा हुन्थ्यो र पो देशको स्वाभिमान अनि सम्पतिको संरक्षण हुन्थ्यो ।

तर, विडम्बना अहिले गणतान्त्रिक व्यवस्थामा जसोतसो गरेर सत्तामा पुग्ने अनि आ-आफना नातागोता, इष्टमित्र भर्ती गर्ने अनि ७ पुस्तालाई पुग्ने सम्पति जोड्नेमात्र चिन्ता देखिन्छ । अर्कोपटक सत्तामा आउन पाइन्छ कि पाईंदैन अहिले नै मस्ती गरौं, जोडौं भनेर आफ्नो दुनो सोझ्याउन नेताहरु व्यस्त छन् । न त तिनलाई देशको चिन्ता छ, न त जनताको चिन्ता । मात्र आफ्नै र आफ्नाहरुको चिन्ता र चासो छ । जनतालाई खाली सास्ती मात्रै मिलेको छ ।

अब प्रसंग अमेरिकी उपराष्ट्रपति निर्वाचित कमलाको । हाम्रो देशमा पनि त दोश्रो राष्ट्रपति विद्यादेवी भण्डारी महिला नै छन् । प्रधान न्यायाधीश श्रीमती सुशिला कार्की, सभामुख श्रीमती अन्सारी घर्ती मगर महिला पाएकै हो हामीले । तर, विडम्बना अहिले पनि नेपालमा दिनदहाडै कति नाबालिकाहरु सामूहिक बलात्कृत हुन्छन्, कति महिला दाइजोको नाममा आत्महत्या गर्न बाध्य हुन्छन् । महिला अधिकारकर्मीहरुले यस बारेमा खासै कतै कुरा उठाएको सुन्न, देख्न र पढन पाईंदैन् ।

बरु उता वधाई र शुभकामना दिन जति समय र मन खर्चिन्छौं त्यति बरु आफूजन्मेको जन्मभूमितिर खर्चौं न । यो त खाली ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएन र ? विश्व अर्थतन्त्रमा यसको असर पर्ला । तर, आम नेपालीको दैनिकीमा खासै केहि असर पर्ने देखिदैंन् ।

त्यसैले थोरै भएपनि आफ्नो समय छंदा मातृभूमिकै हितका लागि चिन्तन मनन गरौं । आफ्नो माटोको सुगन्ध जति मिठो छ, विदेशी भूमिमा जति नै विकास र विलासिता भएपनि छैन् ।

(लन्डनमा बस्ने लेखिका एनआरएनए यूकेकी सल्लाहकार हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू