शुक्रबार, वैशाख १४, २०८१
02:18 | ०७:०३

बेलायतमा एकदिनमै ३३ हजार बढी संक्रमित, महामारीपछिकै उच्च

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जना नयाँ कोरोना संक्रमित थपिएको तथ्याँक सार्वजनिक भएको छ  ।

हिजो बुधबार संक्रमित संख्या २२ हजार ९५० रहेकोमा आज करिब दश हजार बढी अर्थात ४५.८ प्रतिशत संक्रमित थपिएर संख्या एकैदिनमा ३३ हजार नाघेको हो । यो संख्या बेलायतमा महामारीपछिकै सबैभन्दा उच्च भएको स्वास्थ्य विभागले जनाएको छ  ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ९० हजार १९५ पुगेको छ  ।

इंग्ल्याण्डमा चार हप्ता लामो लकडाउन लागू गरेको एक हप्तापछि संक्रमितको संख्या अत्यधिक मात्रामा बढेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले कम्तिमा डिसेम्बर २ तारिख सम्मका लागि इंग्ल्याण्डमा लकडाउन गरेको छ  ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५६३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार  ९२८  पुगेको छ । हिजो बुधबार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको थियो ।

कोरोनाका कारण ५० हजार भन्दा बढी मृत्यु हुने युरोपेली मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वभर सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ६६८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २६८ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ३० जनाको हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू