आइतबार, जेठ ६, २०८१
16:52 | २१:३७

नेपाल बेलायत परामर्श संयन्त्रको बैठक: के-के विषयमा भयो छलफल ?

नेपाली लिङ्क नोभेम्बर १२, २०२०

लण्डन । नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौ बैठक विहीबार सम्पन्न भएको छ । ‘भर्चुअल’ रुपमा सम्पन्न बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा विस्तृत छलफल भएको बैठकपछि परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी गराएको छ ।

बैठकमा दुई देशबीच दुई शताब्दी लामो मित्रता र आपसी सहयोगका बारेमा विचारहरु आदानप्रदान गरिनुका साथै दुई पक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा सैनिकसम्बन्धी मामिला एवम् दुई देशबीचको सांस्कृतिक, शैक्षिक, जनस्तरको सम्बन्ध लगायतमा छलफल भएको जनाइएको छ ।

राजनीतिक तथा आर्थिक क्षेत्रमा दुवै देशमा विकास भइरहेका घटनाक्रमहरुका साथै कोभिड महामारीविरुद्धको लडाईंका क्रममा संगालेका अनुभवहरु एकआपसमा शेयर गरिएको थियो ।

त्यसक्रममा नेपाली पक्षले कोभिड महामारी नियन्त्रणका लागि बेलायत सरकारले प्रदान गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको थियो । कोभिड खोप विकासको प्रयासमा बेलायतले हासिल गरेको प्रगतिको पनि नेपालले प्रशंसा गरेको थियो ।

आगामी दिनमा दुई देशले व्यापार, लगानी, उर्जा, पर्यटन लगायतका उत्पादनमुलक क्षेत्रमा अझै सुदृढ र व्यापक सहकार्य अघि बढाउने सहमति गरिएको छ ।

बैठकमा क्षेत्रीय तथा अन्तरराष्ट्रिय महत्वका विषयहरुमा पनि दुई देशका प्रतिनिधिबीच छलफल भएको थियो । बहुपक्षीय फोरमहरुमा साझा चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धता दुवै पक्षबाट दोहोर्याइएको छ । अन्तरराष्ट्रिय सम्मेलनहरुमा जलवायु परिवर्तनका असरहरुलाई सम्बोधन गर्ने एजेण्डा अघि बढाउन मिलेर काम गर्ने सहमति गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अधिकारीहरु सहभागी थिए भने बेलायतको तर्फबाट पनि विदेश मन्त्रालयका अधिकारीहरुको सहभागिता थियो । बैठकमा बेलायतका लागि नेपाली राजदूत र नेपालका लागि बेलायती राजदूत समेत सहभागी थिए ।

बैठकपछि परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू