बिहीबार, वैशाख १३, २०८१
12:41 | १७:२६

बेलायतका पूर्व प्रधानमन्त्री र नेपाली राजदूतबीचको त्यो ‘गोप्य’ कुरा !

नेपाली लिङ्क नोभेम्बर ११, २०२०


लण्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गत आइतबार बेलायतका पूर्व प्रधानमन्त्री जोन मेजरलाई भेटे । 

विभिन्न युद्धमा वीरगति प्राप्त गर्ने सैनिकहरुको स्मृतिमा आयोजित ‘रिमम्बरेन्स सन्डे’ समारोहमा सहभागी हुने क्रममा उनलाई पूर्व प्रधानमन्त्री मेजरलाई भेट्ने अवसर जुर्यो । 

बेलायती महारानी, राजपरिवारका सदस्य, प्रधानमन्त्री, मन्त्री लगायतका भिभिआईपी सहभागी समारोहमा आमन्त्रित बेलायतस्थित विभिन्न ७ देशका राजदूतमध्ये एक नेपाली राजदूत डा सुवेदी पनि थिए । 

औपचारिक समारोहको समापनलगत्तै अनौपचारिक भेटका क्रममा बेलायतका पूर्व प्रधानमन्त्री मेजरलाई नमस्कार गर्दै अभिभावदन गरेको तस्विर राजदूत सुवेदीले ट्वीटरमा सार्वजनिक गरेका छन् । मेजरसंगको तीन चार मिनेट लामो संवाद र भेटलाई उनले शिष्टाचार भेट भनेका छन् । 

‘अनौपचारिक रुपमा भएको शिष्टाचार भेट हो । तर, एक राजदूतले देशको पूर्व प्रधानमन्त्रीजस्तो उच्च नेतासंगको भेटमा केही कुरा नगर्ने भन्ने हुँदैन’, नेपाली लिंकको जिज्ञासामा राजदूत डा सुवेदीले भने, ‘हामीबीचमा पनि केही कुरा अवश्य भएका छन् । तर, के के कुरा भयो भनेर परराष्ट्र मन्त्रालयमा रिपोर्ट नगरी अहिल्यै सार्वजनिक गर्न मिल्दैन ।’

बेलायतका पूर्व प्रधानमन्त्रीसंग भएका कुरालाई ‘कूटनीतिक मर्यादा’ राख्दै राजदूतले ‘गोप्य’ राखेका छन् । तर पनि उनीहरुबीच भएको त्यो ‘गोप्य कुरा’ बेलायत तथा नेपालको दुई पक्षीय सम्बन्धका लागि उपलब्धिपूर्ण नै रह्यो भन्ने आशा गर्न सकिन्छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू