बुधबार, वैशाख १२, २०८१
08:39 | १३:२४

यूकेमा लकडाउनविरुद्ध सत्तारुढ पार्टीकै सांसदहरुको मोर्चा

मोर्चामा ५० सांसद आबद्ध, अरु ४५ जोडिंदै

नेपाली लिङ्क नोभेम्बर ११, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा अहिले लकडाउन लागू छ । लकडाउनबाहेककै विकल्पबाट अघि बढ्ने कोशिश् विफल भएपछि महामारीको दोस्रो छालसँग जुध्न लकडाउनमै जाने निर्णय लिन सरकार बाध्य बनेको थियो ।  

तर बेलायतमा लकडाउन लागू गर्ने सरकारको नेतृत्वमा रहेको दलकै सांसदहरुले भने लकडाउनविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् ।  

‘कोभिड रिकभरी ग्रुप’ नाम दिइएको उक्त ‘एन्टी लकडाउन’ मोर्चामा सत्तारुढ कन्जरभेटिभ पार्टीका ५० जना सांसदहरु आबद्ध भइसकेका छन् । थप ४५ सा सांसद यो मोर्चामा जोडिने क्रममा छन् ।

मोर्चाले आगामी डिसेम्बर महिनाको २ तारिखसम्म लागू गरिएको लकडाउनको म्याद बढाउन सरकारले प्रयास गरे त्यसविरुद्ध संघर्ष  गर्ने भएको छ ।  

कन्जरभेटिभ पार्टीका दुई प्रभावशाली सांसदहरु मार्क हार्पर र स्टिभ बेकरले मोर्चाको नेतृत्व गरेका छन्   

मोर्चामा ५० सांसद संलग्न भइसकेको र संलग्न हुने क्रममा रहेका थप ४५ सांसदहरुले मोर्चाको ‘व्ह्वाट्स एप’ ग्रुप जोइन गरिसकेको बताइएको छ ।  

मोर्चाका एक नेता सांसद मार्क हार्परले ‘टेलिग्राफ’ अखबारमा एक लेख लेख्दै मोर्चाको प्रमुख माग लकडाउनका लागि देशले चुकाउनुपर्ने मूल्यको लेखाजोखा हुनुपर्ने रहेको उल्लेख गरेका छन् । लकडाउनले अर्थतन्त्रमा पुर्याएको नोक्सानीकै अनुपातमा संक्रमण नियन्त्रणका लागि सहयोग पुर्याएको छ वा छैन भनेर हेर्नुपर्ने उनीहरुको तर्क छ ।  

अहिले लागू लकडाउनको अवधि आउंदो डिसेम्बर २ मा सकिएपछि क्षेत्रगत रुपमा प्रतिवन्धहरु जारी गरेर लकडाउन हटाउने प्रधानमन्त्री बोरिस जोन्सनको योजना छ ।  

तर अब जोन्सनले तेस्रो चरणको लकडाउनबारे सोच्नुपर्ने अवस्था आए सबभन्दा पहिला आफ्नै दलभित्रका सांसदहरुको कडा चुनौती  सामना गर्नुपर्ने भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू