शुक्रबार, वैशाख १४, २०८१
21:57 | ०२:४२

बेलायतमा कोरोना विरुद्ध भ्याक्सिनको गृहकार्य शुरु

क्रिसमस अगाडि नै खोपको सम्भावना

नेपाली लिङ्क नोभेम्बर १०, २०२०


लन्डन । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोरोनाविरुद्ध भ्याक्सिनको पूर्व तयारीका लागि गृहकार्य शुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपले ९० प्रतिशत सफलता पाएको समाचार आएलगत्तै सरकारले गृहकार्य शुरु गरेको हो ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजर र बायोटेकद्वारा विकास गरिएको भनिएको कोरोनाविरुद्ध पछिल्लो खोपको सफलताले सम्पूर्ण विश्वलाई नै थप आशाका किरण थपिदिएको हो । कोरोनाविरुद्धको खोपको पूर्व तयारी शुरु गरिएको स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले बताएका छन् ।

सम्भव भएसम्म चांडै नै भ्याक्सिन उपलब्ध गराउन बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) तयार रहेको उनले बीबीसीलाई बताए । डिसेम्बर १ बाट नै एनएचएसलाई तयारी अवस्थामा रहन भनिएको र क्रिसमस अगाडि नै खोपको सम्भावना रहेको पनि उनले जानकारी दिए ।

हप्ताको सातै दिन खोप उपलब्ध हुने र त्यसका लागि स्थानीय जीपीलाई थप १.६ मिलियन पाउण्ड उपलब्ध गराउने पनि उनले बताए । बेलायतले चार करोड डोज भ्याक्सिन अर्डर गरिसकेको छ, जुन दुई करोड मानिसको लागि पर्याप्त हुनेछ । कम्पनीका अनुसार यो भ्याक्सिन एक व्यक्तिको लागि दुई डोजको आवश्यकता पर्नेछ ।

फाइजर र बायोटेकद्वारा विकास गरिएको उक्त खोप परीक्षणको अन्तिम चरणमा रहेको र यसलाई नोभेम्बर अन्तसम्ममा आकस्मिक प्रयोगका लागि अनुमोदन गरिने कम्पनीले बताएको छ । सामान्य जीवनमा फर्किन कति मानिसलाई खोप आवश्यकता पर्छ भन्ने यकिन नभएको भन्दै उनले सबैलाई धैर्य रहन आग्रह गरेका छन् ।

बेलायतमा कोरोना परीक्षणको दायरा बढाउन योर्कसायर, नटिंगहामसायर र वेष्ट मिडल्याण्ड लगायत करिब ७० वटा स्थानमा नयाँ द्रुत गतिको परीक्षणको शुरु गर्न लागिएको छ, जसले एक घण्टा भन्दा पनि कम समयमा नतिजा दिनेछ । भर्खरै लिभरपुलमा गरिएको परीक्षणपछि यसलाई थप विस्तार गर्न लागिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू