बिहीबार, वैशाख २७, २०८१
23:22 | ०४:०७

कोरोना असर: बेलायतमा बेरोजगारीको नयाँ रेकर्ड

बेरोजगारी दर बढेर ४ दशमलव ८ प्रतिशत

नेपाली लिङ्क नोभेम्बर १०, २०२०

लण्डन । अहिले कोरोना महामारीको दोस्रो छालसंग जुधिरहेको बेलायतमा बेरोजगारी समेत तीव्र रुपमा वृद्धि भएको छ ।

‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले महामारीका बेला देशमा रोजगारी गुमाउनेहरुको संख्या पनि अहिलेसम्मकै उच्च रेकर्ड भएको देखाएको छ ।

‘ओएनएस’को तथ्यांकअनुसार गत सेप्टेम्बर महिनासम्मको तीन महिनामा बेलायतमा बेरोजगारी दर बढेर ४ दशमलव ८ प्रतिशत पुगेको छ । जुन दर अघिल्लो तीन महिनाको अवधिमा ४ दशमलव ५ प्रतिशत थियो ।

त्यस्तै, तीन महिनाको अवधिमा बेलायतमा रोजगारी गुमाउनेहरुको संख्याले पनि नयाँ रेकर्ड नै कायम गरेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा बेलायती कम्पनीहरुबाट रिडन्डेन्सी (बाध्यकारी अवकाश) पाउनेहरुको संख्या तीन लाख १४ हजार पुगेको छ । जुन संख्या हालसम्मकै सबैभन्दा उच्च हो ।

महामारीका कारण बन्द कम्पनीका कामदारको ८० प्रतिशत तलब सरकारले व्यहोर्ने ‘फर्लो स्किम’ अक्टोबरमा समाप्त हुने भनिएका कारण पनि धेरै कम्पनीले आफ्ना कर्मचारीलाई अवकाश दिन हतार गरेका छन् ।

दोस्रो चरणको लकडाउन घोषणा भएलगत्तै भने सरकारले फर्लो स्किमको अवधि बढाएर आउँदो मार्चसम्म पुर्याएको छ । फर्लो लम्ब्याउने घोषणा केहि समय पहिले नै भएको भए केही रोजगारीहरु जोगिन सक्ने अर्थविद्हरुले बताएका छन् ।

गत सेप्टेम्बरसम्मको तीन महिनामा बेलायतमा बेरोजगारहरुको संख्या २ लाख ४ हजारले वृद्धि भएको छ । तीन महिनाको अवधिमा यति ठूलो दरमा बेरोजगारको संख्या बढेको सन् २००९ पछि यो नै पहिलोपटक हो ।

महामारीका बेला बन्द तथा प्रभावित कम्पनीहरुको लागि सरकारले फर्लो, ग्रयान्ट, ऋण लगायतका विभिन्न सहायता उपलब्ध गराएको छ ।

सरकारका यी राहत सुविधाहरुको अन्त्यपछि भने देशमा धेरै कम्पनी बन्द हुने र ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाउने अवस्था आउन सक्ने ठानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू