शनिबार, वैशाख ८, २०८१
14:23 | १९:०८

युरोपसंगको स्वतन्त्र आवतजावत सम्झौता बेलायती संसदबाट खारेज

ब्रेक्जिटको मूल मुद्धा थियो ‘फ्रि मुभमेन्ट’ खारेजी

नेपाली लिङ्क नोभेम्बर ९, २०२०

बेलायती गृहमन्त्री प्रीति पटेल

लण्डन । बेलायतले युरोपेली संघसंगको आफ्नो ‘फ्रि मुभमेन्ट’ (स्वतन्त्र आवतजावत) सम्झौतालाई अन्ततः कानूनी रुपमै खारेज गरेको छ ।

बेलायतमा युरोपेली देशका नागरिकले स्वतन्त्रतापूर्वक आउन र काम गर्नका लागि पाउँदै आएको विशेषाधिकार अन्त्य गर्ने विधेयक सोमबार बेलायती संसदको उपल्लो सदनबाट पारित भएको छ ।

यो सम्झौताको खारेजीसंगै आउँदो वर्ष जनवरी १ देखि युरोपेली तथा गैरयुरोपेली मुलुकहरुबाट बेलायत आउन र काम गर्न चाहनेहरुको लागि समान नियम लागू हुनेछ । यो सम्झौताको जगमा बेलायती नागरिकहरुले युरोपेली मुलुकहरुमा पाउँदै आएको विशेषाधिकार पनि अब कायम रहनेछैन् ।

बहुप्रतिक्षित इमिग्रेसन विधेयक ‘द इमिग्रेसन एन्ड सोसल सेक्युरिटी कोअर्डिनेसन बिल’ संसदबाट पारित भएको पुष्टि गर्दै बेलायती गृहमन्त्री प्रीति पटेलले प्रसन्नता व्यक्त गरेकी छन् ।

‘धेरै वर्षको अभियानपछि युरोपेली संघसंगको स्वतन्त्रतापूर्वक आवतजावतको सम्झौता डिसेम्बर अन्त्यदेखि खारेज गर्ने इमिग्रेसन विधेयक संसदबाट पारित भएकोमा म निकै प्रसन्न छु’, मन्त्री पटेलले भनेकी छन्, ‘हामीले बेलायती जनताले व्यक्त गरेको चाहनालाई पूरा गरिरहेका छौं ।’

युरोपेली संघबाट बहिर्गमनसंगै आउँदो वर्षको शुरुदेखि नयाँ इमिग्रेसन व्यवस्था लागू गर्ने घोषणा बेलायतले गरिसकेको छ ।

अकंमा आधारित इमिग्रेसन प्रणाली कार्यान्वयनमा आइसकेपछि युरोपेली मुलुकका नागरिकहरुले पनि अन्य गैरयुरोपेली देशका नागरिकहरुले जस्तै इमिग्रेसन मापदण्ड पूरा गरेर मात्रै बेलायत आउने वा यहाँ काम गर्ने अधिकार पाउनेछन् ।

आयरल्याण्डका लागि भने अहिले युरोपेली देशहरुका लागि दिइएको जस्तै विशेषाधिकार निरन्तर रहनेछ ।

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का समर्थकहरुले उठाएका प्रमुख मागमध्ये एक युरोपसंगको स्वतन्त्र आवतजावतको व्यवस्था खारेजी पनि थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू