मंगलबार, वैशाख ११, २०८१
09:16 | १४:०१

ग्रीनवीचका उत्कृष्ट रेष्टुरेन्टमा ‘माउन्टेन भ्यू’ चौंथो नम्बरमा

नेपाली लिङ्क नोभेम्बर ९, २०२०

लन्डन । बेलायतको ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू’ रेष्टुरेन्ट त्यस क्षेत्रका उत्कृष्ट रेष्टुरेन्टहरुको सूचीमा परेको छ ।  

नेपाली व्यवस्थापनमा सञ्चालित ‘माउन्टेन भ्यू नेप्लिज एन्ड इन्डियन रेष्टुरेन्ट’ प्रतिष्ठित स्थानीय पत्रिका ‘न्यूज सपर्स’ ले हालै प्रकाशित गरेको उत्कृष्ट १० रेष्टुरेन्टको सूचीमा परेको हो ।

ग्रीनवीचमा सञ्चालित सयौं रेष्टुरेन्टहरुमा लोकप्रियता र ग्राहकको मतको आधारमा ‘माउन्टेन भ्यू’ चौंथो स्थानमा सूचीकृत भएको छ ।  

‘ग्रीनवीचमा सयौं  रेष्टुरेन्ट छन् । हामीले जस्तै नेप्लिज् र इन्डियन खाना सर्भ गर्ने रेष्टुरेन्टको संख्या पनि दर्जनौं होला’, माउन्टेन भ्यू रेष्टुरेन्टका सञ्चालक एवम् समाजसेवी रोमनाथ पाण्डेले भने, ‘ती सबैमध्ये उत्कृष्ट भनेर सूचीमा राखेकोमा हामी गौरवान्वित भएका छौं । खाना र सर्भिसमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने हाम्रो कोशिश् ग्राहकहरुबाट कदर भएको महशुस भएको छ ।’

सन् २०१३ मा स्थापित माउन्टेन भ्यू गुणस्तरीय खाना र सर्भिसको लागि स्थानीय  ग्राहकहरुमाझ लोकप्रिय छ ।  

ग्राहकहरुको रिभ्यूका आधारमा  ‘ट्रिप एड्भाइजर’ बाट लोकप्रिय रेष्टुरेन्टको पुरस्कार प्राप्त गरेको रेष्टुरेन्टले यसअघि ग्रीनवीच करी अवार्ड समेत जितिसकेको छ ।  

‘शुरुमा दासुराम पाण्डे र मसहितको टीमले सन् २००७ मा ब्ल्याकहिथमा पहिलो माउन्टेन भ्यू रेष्टुरेन्ट स्थापना गर्यौ । केही वर्षपछि चिजलहर्स्टमा अर्को ब्रान्च खोल्यौँ । पछि ब्ल्याकहिथ बन्द गर्नुपर्‍यो । अनि ग्रीनवीचमा यो रेष्टुरेन्ट स्थापना भएको हो’, सञ्चालक पाण्डे भन्छन्, ‘स्थानीय ग्राहकहरुमाझ माउन्टेन भ्यूको ब्रान्ड पहिले नै बनिसकेको थियो । त्यसैले पनि  हामीलाई स्थापित हुन केही सजिलो भयो ।’

छोटो समयमै ग्राहकको मन जितेर स्थापित रेष्टुरेन्टले व्यापार पनि गतिलो गर्दै आएको उनले सुनाए । केही अवसरहरुमा स्थानीय च्यारिटीको सहयोगमा रेष्टुरेन्टमा च्यारिटी डिनर नै पनि आयोजना गरिएको उनले सम्झिए ।  


अहिले कोभिड १९ का कारण सिंगो विश्व अर्थतन्त्र नै प्रभावित भइरहंदा यसबाट माउन्टेन भ्यू पनि अछुतो छैन । ‘पहिलाजस्तो व्यापार त छैन । तर टेक-अवे, डेलिभरीबाट सर्भाइभ गरिरहेकै छौं’, पाण्डेले सुनाए-‘पहिलोपटक लकडाउन हुँदा डेढ महिना बन्द भयो ।  त्यसलगत्तै केही समय टेक-अवेमा निकै राम्रो भयो । पछि रेष्टुरेन्ट खोल्दा झन् राम्रो भयो । अब दोस्रो लकडाउनमा कस्तो हुन्छ, हेर्दै जानुपर्छ ।’

माउन्टेन भ्यूको मेन्यूमा नेप्लिज्  र इन्डियन  कुइजिनका स्वादिष्ट परिकारहरु समावेश छन् । मौलिक नेपाली ममदेखि हाँसको भुटुवा, हरियो कुरिलो, चिकन मनपसन्द, मुर्ग टिक्का लबाबदार, दाल मखनीसहितका हाउस स्पेसल परिकारहरु ग्राहकमाझ लोकप्रिय छन् ।  

रेष्टुरेन्टका ९० प्रतिशत  ग्राहक बेलायती छन् । फाट्टफुट्ट रुपमा नेपाली र भारतीयहरु पनि आउने गर्छन् । रेष्टुरेन्टको सिटिङ कभर ५५ छ । टेक-अवे कलेक्सन् र आसपासको क्षेत्रमा डेलिभरी सेवा पनि उपलब्ध गराइएको छ । रेष्टुरेन्टका सेफसहित अधिकांश स्टाफ नेपाली नै छन् ।  

रेष्टुरेन्टका सञ्चालक पाण्डे बेलायतको नेपाली समुदायमा समाजसेवीका रुपमा समेत परिचित छन् । चार्ल्टन नेपाली समाजका पूर्व अध्यक्ष उनी गुल्मी जिल्ला समाज यूके, एनआरएनए यूके लगायतका संघसंस्थामा सल्लाहकारको भूमिकामा छन् ।

एक दशक कुवेतमा बिताएका गुल्मी अस्लेवाका पाण्डे २० वर्षअघि  बेलायत आएका हुन् । बेलायतमा रेष्टुरेन्ट व्यापारमा हात हाल्नुअघि उनले सन् २००५ मा प्लमस्टिडमा स्थापना गरेको एभरेष्ट क्यास एन्ड क्यारी अहिले पनि सञ्चालित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू