शुक्रबार, वैशाख १४, २०८१
13:59 | १८:४४

बेलायतस्थित नेपाली विद्वानहरुसंग दूतावासको विकास सम्मेलन

विभिन्न महत्वपूर्ण कार्यपत्रहरु प्रस्तुत

नेपाली लिङ्क नोभेम्बर ८, २०२०


लन्डन । लन्डनस्थित नेपाली दूतावासले ७ नोभेम्बर शनिबार ‘नेपालको विकासका लागि बेलायतमा रहेका विद्वानहरुको विचार र दृष्टिकोण’ बिषयक नेपाल विकास सम्मेलन गरेको छ ।

सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायत बीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्न योगदान गरिरहेको बताए । उनले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान र संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखे ।

सम्मेलनमा बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले ‘नेपालको विकासका लागि आर्थिक कूटनीति’ सम्बन्धी आफ्नो प्रमुख मन्तव्य प्रस्तुत गरेका थिए । त्यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडाले ‘नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हित’ का विषयमा कार्यपत्र प्रस्तुत गरे ।

अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा. कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक संघ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा युनिभर्सिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा. पुनम यादवले ‘तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ?’ भन्ने विषयमा प्रस्तुति दिइन् ।

त्यसैगरी क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा. बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गरे ।

बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा. बीरेन्द्र श्रेष्ठले ‘काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा. भास्कर अधिकारीले ‘नेपालको विकासमा बनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनमा बेलायतका दुईवटा प्रतिष्ठित अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई महामहिम राजदूत डा. सुवेदीले अभिनन्दन गरे ।

राजदूत सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. सुवेदी प्रमुख अतिथि थिए भने कार्यक्रम सञ्चालन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू