शनिबार, साउन १२, २०८१
16:00 | २०:४५

बेलायतमा आज ‘रेमेम्बरेन्स सन्डे’ मनाइंदै, राजदूत सुवेदी पनि उपस्थित  

बेलायतका १८३ राजदूतमध्येबाट ७ जनालाई मात्र निमन्त्रणा

नेपाली लिङ्क नोभेम्बर ८, २०२०

लन्डन । बेलायतमा आज ‘रेमेम्बरेन्स सन्डे’ मनाइंदै छ । बेलायतसहित कमनवेल्थ देशमा विश्वयुद्धपछि दिवंगत सैनिकहरुको सम्झनामा प्रत्येक वर्ष ११ नोभेम्बरलाई रिमेम्बरेन्स डेका रुपमा मनाउने प्रचलन छ । यसलाई ‘पप्पी डे’ पनि भनिन्छ ।

प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबार लन्डनस्थित सेनेटाफमा विशेष कार्यक्रम गरि यो दिवस मनाइने तालिका अनुसार आज पनि सिमित सहभागिताबीच कार्यक्रम गर्ने तयारी छ । यसपटक महामारीका कारण धेरै भिडभाड नगरि राजपरिवारका सदस्य, सरकारी पदाधिकारी तथा आर्मड फोर्सेस लगायत विशिष्ट व्यक्तिहरुको मात्र सहभागिता रहेनछ । सामाजिक दूरी पनि कायम हुने बताइएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि सो समारोहमा सहभागी हुने भएका छन् । बेलायतका १८३ जना राजदूतमध्येबाट ७ जना राजदूतलाई मात्र निमन्त्रणा गरिएको दूतावास स्रोतले जनाएको छ । तिमध्ये नेपाल र आयरल्याण्डका राजदूत तथा माल्टा, मालावी, पपुवा न्यूगिनी र बंगलादेशका उच्च आयुक्तहरुलाईमात्र निम्त्याइएको हो ।

पहिलोपल्ट उक्त कार्यक्रममा सर्वसाधारणलाई उपस्थित हुन रोक लगाइएको छ । आज ११ बजे सम्पूर्ण बेलायतवासीलाई युद्धमा दिवंगत हुनेहरुको सम्मान स्वरूप आफ्नो घरको ढोकामा गएर दुई मिनेट मौनधारण गर्न आग्रह गरिएको छ ।

सो कार्यक्रम बीबीसी टेलिभिजनले १०. १५ मा प्रत्यक्ष प्रशारण गर्नेछ । यसपटकको विशेष परिस्थितिमा घरमै बसेर कार्यक्रम हेर्न सांस्कृतिक सचिव ओलिभर डाउडेनले सर्वसाधारणलाई आग्रह गरेका छन् । विगतमा दशौँ हजार सर्वसाधारणको सहभागिता रहने उक्त कार्यक्रममा यसपटक सिमित व्यक्तिको मात्र उपस्थिति हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू