शुक्रबार, चैत १६, २०८०
11:59 | १७:४४

नेकपा नेतृत्वलाई बेलायतका कार्यकर्ताको सन्देश: गुटगत स्वार्थ त्यागेर एकजुट बन

पार्टीको विवादले बेलायतका कार्यकर्ता चिन्तित

नेपाली लिङ्क नोभेम्बर ८, २०२०

लन्डन । सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद बढिरहेकोमा  बेलायतस्थित पार्टी कार्यकर्ताले चिन्ता  व्यक्त गरेका छन् ।  

प्रवासी नेपाली नेपाली एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले पार्टीका शीर्ष नेताहरुलाई गुटगत स्वार्थ त्यागेर सिंगो पार्टीलाई एकजुट बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेको छ   

मञ्चका सचिव सुरेश गौतमका अनुसार बैठकका सहभागीहरुले हाल पार्टीमा  देखापरेको असमझदारीप्रति गम्भिर चिन्ता प्रकट गर्दै पार्टी एकताको मूल भावना र मर्म अनुसार पार्टी चल्न नसकेको र जनता तथा पार्टी शुभेच्छुकहरूको हितमा सरकारले ध्यान पुर्याउन नसकेको धारणा व्यक्त गरेका थिए । नेकपा पार्टी जीवनमा आएका नकारात्मक खबरहरुले आम कार्यकर्ता र जनतालाई दुखी तुल्याएको उनीहरुको भनाइ थियो । 

मुलुकको अत्यधिक जनसमर्थन प्राप्त गरेको पार्टी विधि र विधान अनुसार चल्न नसक्दा उत्पन्न हुने परिस्थितिले कार्यकर्ता र तमाम जनतालाई निरास पार्ने मात्र नभइ पटकपटक जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रको मुल्य मान्यता र देशको विकास निर्माण र समाज परिवर्तनको बाटो समेत अवरूद्ध  हुने भएकोले पार्टीका सबै तहका नेता-कार्यकर्ता सबैले पार्टी हितको लागि अनुशासन र विधि विधानअनुसार चल्नुपर्छ भन्नेमा समेत सबैको सहमति भयो’, बैठकपछि सचिव गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पार्टी फुटले कसैको भलो नहुने तथ्यलाई स्वीकार गर्दै गुटगत स्वार्थ भन्दा माथी उठेर पार्टीलाई अझ मजबुत र एक ढिक्का बनाउन पार्टी नेतृत्वलाई विशेष अनुरोध गर्ने निर्णय भयो ।’

बैठकले पार्टीको घोषणा पत्रमा जनतासामु कबुल गरेका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित भइ जनताका दैनिक जनजीवनका समस्या समाधानका लागि सरकार तथा पार्टीवीच समन्वय गर्न आग्रह गरेको छ । 

बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसका नेता कार्यकर्ताहरूप्रति लक्षित अभिव्यक्तिहरु सामाजिक संजालमा नलेख्न र प्रचार प्रसारमा संलग्न नहुन पार्टीका सम्पूर्ण सदस्य एवम् शुभचिन्तकहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । साथै, प्रवासमा रहेका सम्पूर्ण प्रवासी नेपाली एकता मञ्चहरुसंग सल्लाह गरी पार्टीको बृहत एकता र नेता कार्यकर्ताहरूले पालना गर्नुपर्ने अनुशासन र कम्युनिस्ट पार्टीले प्राप्त गरेको ऐतिहासिक जिम्मेवारीबाट विमुख हुन नदिने ठोस कार्यक्रम ल्याउन पार्टी केन्द्रलाई ध्यानाकर्षण समेत गर्ने निर्णय गरिएको छ । 

बैठकले प्रवासी नेपाली एकता मञ्च बेलायतका सदस्य कपिल श्रेष्ठलगायत अन्य कोरोना संक्रमित नेपालीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महरालगायत स्वदेश तथा विदेशमा यस महामारीबाट मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू