शुक्रबार, चैत १६, २०८०
08:41 | १४:२६

लकडाउनमा लन्डन दूतावासका धेरै सेवा हुलाकबाटै

हुलाकबाट नमिल्ने कामको लागि 'अपोइन्ट्मेन्ट'

नेपाली लिङ्क नोभेम्बर ६, २०२०

लन्डन । लन्डनस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका अवस्थामा दूतावास नआउन आफ्ना सेवाग्राहीलाई अपील गरेको छ ।

विहीबारदेखि इङ्ल्यान्डमा एक महिने लकडाउन शुरु भएको सन्दर्भमा दूतावासले सम्भव भएसम्म हुलाकको माध्यमबाटै आफ्नो सेवा लिन सम्बन्धित सबैमा आव्हान गरेको छ ।  

दूतावासले एक ‘जरूरी सूचना’ जारी गर्दै राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा एवम् कागजात प्रमाणिकरण जस्ता कार्यका लागि हुलाकबाटै आवेदन पठाउन आग्रह गरेको छ । जसका लागि दूतावासको वेबसाइटमा रहेको विवरणअनुसारका आवश्यक कागजातहरु हुलाकमार्फत् पठाउन दूतावासको अनुरोध छ ।

वारेशनामा र मन्जुरीनामा लगायत अत्यावश्यक काम पर्नेहरुलाई पनि शुरुमा दूतावासलाई टेलिफोन सम्पर्क गर्न आग्रह गरिएको छ ।  

‘लकडाउन लागू भएको अवस्थामा यहाँको सरकारले जारी गरेको नियमहरु त हामी सबैले मान्नु नै पर्‍यो । तर यो अवस्थामा पनि जसरी सकिन्छ, दूतावासको सेवा र सहयोग निरन्तर राख्ने हाम्रो प्रयत्न छ’, दूतावासकी प्रवक्ता रोशन खनाल भन्छिन्, ‘सम्भव हुने जति सबै काम हुलाकबाटै गर्ने गराउने र मानिसहरु आफै आउनैपर्ने अवस्थामा पनि शुरुमा टेलिफोनबाट अपोइन्ट्मेन्ट बुक गराएर सुरक्षित हिसाबले आउन सकिने प्रबन्ध गरेका छौं ।’

कार्यालय खुला रहने समयमा दूतावासमा सम्पर्कको लागि टेलिफोन नम्बर र ईमेल ठेगाना निम्नानुसार छन्: 

02072291594, 02072299655 (भिसा), 02072437859 (कन्सुलर)   

ईमेल- [email protected]

त्यस्तै, बिदाको दिन वा कार्यालय खुला रहने समयबाहिरको समयमा दूतावासलाई मोबाइल नम्बर 07404939274 मा सम्पर्क गर्न सकिनेछ ।

दूतावासले लकडाउनका क्रममा बेलायत सरकारले जारी गरेका नियमहरु पालना गर्न र आवश्यक सतर्कता एवम् सावधानी अपनाएर सुरक्षित रहन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह समेत गरेको छ ।  

दूतावासको सूचना:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू