शनिबार, साउन १२, २०८१
05:38 | १०:२३

लकडाउनमा भर्चुअल योग, प्रवचन र सत्संग चलाउँदै लण्डन पशुपतिनाथ मन्दिर

मन्दिरको दैनिक आरती फेसबुकमा लाइभ गरिने

नेपाली लिङ्क नोभेम्बर ६, २०२०

फाइल तस्विर

लण्डन । इंग्ल्याण्डमा विहीबारदेखि शुरु भएको एक महिने लकडाउनको अवधिमा पनि लण्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले आफ्ना नियमित कार्यक्रमहरु निरन्तर गर्ने भएको छ ।

लकडाउनका कारण मन्दिरमा भेला हुन बन्देज रहेका बेला भर्चुअल माध्यमबाटै दैनिक आरती, योगा कक्षा, धार्मिक प्रवचन र सत्संग लगायतका कार्यक्रम सञ्चालन गर्ने मन्दिरको योजना छ । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलका अनुसार अबदेखि मन्दिरमा दैनिक हुंदै आएको आरती फेसबुकमार्फत प्रतक्ष्यप्रसारण गरिने भएको छ ।

हरेक दिन बिहान १० बजे मन्दिरको फेसबुक पेजमा आरती लाइभ हुनेछ । जसबाट लकडाउनका कारण मन्दिर आउन नपाउनेहरु मात्र नभएर संसारका जुनसुकै ठाउँमा रहनेहरु पनि लाभान्वित हुने आशा गरिएको अध्यक्ष कंडेलले बताए । 

अबदेखि मन्दिरको दैनिक आरती फेसबुकमा प्रतक्ष्य प्रसारण गरिनेछ ।

त्यसैगरी, यही शनिबारदेखि हरेक साता मन्दिरले भर्चुअल योग कक्षा सञ्चालन गर्दैछ । जुन कार्यक्रममा योग गुरुहरु समेतलाई ल्याएर योग र स्वस्थ जीवनशैलीसम्बन्धी उपयोगी जानकारी र परामर्शहरु बाँड्ने र प्रशिक्षण गराउने मन्दिरको योजना छ ।

निशुल्क योग कक्षामा सहभागिताको लागि अग्रिम रुपमा आफ्नो नाम दर्ता गर्न आव्हान गरिएको छ । योग कक्षाका लागि सुनिता गौतम थापालाई संयोजन र सरिता शर्मालाई सहसंयोजनको जिम्मवारी दिइएको छ । हरेक शनिबार बिहान सवा ८ देखि सवा ९ बजेसम्म योग कक्षा चल्नेछ ।

त्यस्तै, मनिदरले हरेक महिनाको दोस्रो र अन्तिम आइतबार गर्दै आएको सत्संग कार्यक्रम पनि भर्चुअल रुपमै निरन्तर गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव जीवन वाग्लेले संयोजन र तारा भट्टराईले सहंयोजन गर्ने सत्संग कार्यक्रम पनि अबदेखि फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेल (दायाँ) र सचिव कल्पना त्रिपाठी ।

मन्दिरले सत्संग सञ्चालन गर्ने दुई आइतबारबाहेक हरेक महिना पहिलो र तेस्रो आइतबार पनि अबदेखि धार्मिक प्रवचन सञ्चालन गरिने भएको छ । भर्चुअल प्रवचनमा अतिथि प्रवचकहरु ल्याउने र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना छ । 

कोरोना महामाहरी र त्यसलाई नियन्त्रण गर्ने प्रयासमा बेलायत सरकारले लागू गरेको लकडाउनका कारण मन्दिरका नियमति गतिविधि प्रभावित भएपनि निरन्तर गर्न हरसम्भव प्रयास गरिएको व्यवस्थापन समिति अध्यक्ष कंडेलको भनाइ छ । उनी भन्छन्, ‘यो बेलामा मानिसहरुलाई मन्दिरको थप महत्व महसुस भएको छ । यही कुरा बोध गरेर हामीले जति सक्छौं, कार्यक्रमहरु गर्ने र भर्चुअल माध्यमबाटै भएपनि सबैलाई देखाउने कोशिस् गरिरहेका छौं ।’ 

हालै विजया दशमीको अवसरमा समेत मन्दिरबाट टीका, जमरा वितरण गरिएको थियो भने नवदुर्गाभर दैनिक आरती, चण्डीपाठ, दुर्गापूजा लगायतका गतिविधि चलाइएको थियो । 

कार्यकाल पूरा गरी नेपाल फर्किने तयारीमा रहेका बेलायतका लागि नेपाली राजदूतलाई समेत गतसाता मन्दिरमा एक कार्यक्रमबीच बिदाई गरिएको थियो ।

तस्विर सौजन्य: लन्डननेपालन्यूज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू